Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

साढे दुई खर्ब भित्र्याउनेलाई यस्तो व्यवहार !

उज्ज्वल थापा
 एक तथ्याङ्क अनुसार विदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्ष करिब २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउँछन्। यदि यसो हो भने नेपालमा लगानीको रुपमा विदेशीहरुले भित्र्याउने भन्दा यो करिब पाँच गुणा बढी हुन आउँछ। यिनै ठूला लगानीकर्ताहरुबाट नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ। तैपनि हामी यी कामदार दाजु भाइ, दिदी बहिनीहरुलाई कुकुर सरह व्यवहार गर्छौँ।
एक जना नेपाली दाजु अरबबाट दुई वर्षपछि आफ्नो परिवारलाई भेट्न बल्लतल्ल एक महिनाको छुट्टी लिएर फर्कन्छन्। साँझपख उसको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रन्छ। अनि लामो लाइनमा धेरै समयको लागि कुर्छ।

पालो आएपछि सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेइज्जति प्रश्नको सामना गर्छ। “तँ कहाँ काम गर्छस् ? तेरो घर कता? कति पैसा छ तँसँग? कहिले फर्कन्छस्? आदि, इत्यादि। यसमाथि भन्सारको कर्मचारीले (शायद केही घुस लिन होला) आफ्नो परिवारलाई ल्याएको सरसामानहरु एक-एक गरी खोजतलास गर्छ। वाक्कदिक्क भएर ऊ विमानस्थल बाहिर आउँदा रात परिसक्छ। बाहिर ट्याक्सीहरु मौका छोप्न कुरिरहेका छन्। “गंगबुसम्म १५०० दिने भए जान्छु, नत्र जान्न” भन्छन्। यस्तै रहेछ, के गर्ने भनेर हरेस खाँदै “हुन्छ जाऊँ” भन्छन् हाम्रो दाजु। बिझाउने कुरा के भने यो त उसलाई काठमाडौँदेखि आफ्नो गाउँ जाने बस भाडा भन्दा महंगो पर्‍यो।

ऊ आफ्नो गाउँ जान्छ तर तीन हप्ता बित्दा नबित्दै काठमाडौँ फर्किन बाध्य हुन्छ, नयाँ पासपोर्ट लिनको लागि। परराष्ट्र मन्त्रालय अगाडि यता उता दौडदैँ उसको हरिबिजोग हुन्छ। टन्टलापुर घाममा गु, मुतको गन्धबाट पीडित हुँदै ऊ कुर्छ। अनि अरब फर्कने क्रममा एक पल्ट फेरि विमानस्थलमा उसको बेइजती गरिन्छ त्यही जनताको सेवा गर्न बसेका कर्मचारीहरुबाट। जहाज चढ्दै एउटा लामो चयनको सास लिन्छन् हाम्रा दाजु। उनी फर्कन्नन् नेपाल, अर्को दुई वर्षसम्म।

के यसरी नै हो हामीले करिब २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउने नेपालीहरुलाई सेवा गर्ने तरिका? नेपाल धान्ने नेपालीहरुलाई के यसरी नै धन्यवाद दिने हो त हामीले?

यस प्रथालाई बदलेर सबैलाई जितको परिस्थिति बनाउन यसो गरे कसो होला?

• सरकारी बाधा अडचनहरु सके जति हटाऔं। परराष्ट्र मन्त्रालयमा उनीहरुका लागि छिटो भन्दा छिटो काम हुने छुट्टै संयन्त्र बनाऔं।
• पासपोर्ट बनाउनेजस्ता कामहरु आधा दिनमै सकाए कसो होला? अरु शहरबाट नि पासपोर्ट लिन संयन्त्र तयार गरौं।

• बैदेशिक रोजगार संस्थाहरुबाट सस्तो तथा भरपर्दो बिमा योजना गराऊने नियम लागु गरौं ताकि हरेक बैदेशिक रोजगार कामदारको सुरक्षा बिमा होस्।

• उनीहरुको लागि विमानस्थलमै विशिष्ट लाइन होस् र उनीहरुलाई यस्तो महशुस होस् कि उनीहरुको कारणले हाम्रो देश आर्थिक रुपमा धराशायी हुनबाट बचिरहेको छ।

• हाम्रा सरकारी कर्मचारीहरुको बानी सुधार्नतिर पनि लागौं। जसरी कुइरेहरु नेपाल आउँदा खातिरदारी गर्छौँ, उनीहरुको पनि त्यस्तै गरौँ।
• राम्रा ग्राहक सेवा दिन कहलिएका निजी कम्पनीहरुसँग मिलेर भरपर्दो, सिधै विमानस्थलबाट आफ्नो गन्तव्यमा पुर्‍याउने यातायात सेवा सुरु गरौँ।
• बैदेशिक रोजगार सेवा दिने कम्पनीहरुले बैदेशिक रोजगारमा जाने हरेक नेपालीको जीवन तथा स्वास्थ बिमा गरौँ जसको रकम सस्तोमा र किस्तामा तिर्न मिल्ने खालको बनाऔँ। धेरै जनाको गर्दा कम्पनीहरुलाई फाइदा भैहाल्छ।

• समाजसेवीहरु, तपाईंहरु उनका परिवारहरुलाई आत्मनिर्भर हुने सिप र तालिम दिन मद्धत गर्नुहोस्। कसरी उताबाट पठाएको पैसा जोगाउने र सही सदुपयोग गर्ने बारेमा सुझाब दिनुहोस्। पठाएको सबै पैसा लगेर महँगो टीभीमा खर्चिनु कति उपयुक्त होला अहिलेको १४ घण्टे लोडसेडिंग भएको देशमा ?

• उद्यमि साथी हो, यसो उनीहरुको माझमा गएर जमघट गरे कसो होला ? उनीहरुबाट उनीहरुको परिवारको समस्याहरु थाहा हुन्छ। भन्छन्, समस्या एक महान अवसर हो। तपाईं पनि उनीहरुको साझा समस्याको समाधान निकाल्न यस्तो विचार निकाल्नुहोस् जसले दुवैलाई फाइदा होस्।
• हाम्रो ब्यांक तथा बित्तीय संस्थाका साथीहरु, तपाईँहरु उनका परिवारलाई बिशेष प्राथमिकता दिनुहोस्। लगानी गर्न वा सानो उद्योग धन्दा खोल्न सरसल्लाह दिएर आफ्नो संस्थाबाट पनि लगानी जुटाउन सकिन्छ। उनीहरु त सुरक्षित रुपमा कमाउनेहरु हुन्, कतिपयले त तपाईंकै बैंकमा पैसा राख्छन् होला। यसो गरे कसो होला? धेरै ब्याज भएको ऋणपत्र उहाँहरुलाई बेच्नुहोस् जुन कम्तीमा पनि पाँच वर्षमा मात्र झिक्न पाउँदछन्। अहिलेको स्थितिमा तपाईंहरु माझ एकदमै लोभलाग्दो अवसर छ।
• उनीहरुको सुझाव र विचारहरु लिएर नेपाली उद्योगमा लागू गर्नुहोस् गुणस्तर, सुरक्षा तथा छरितोपन बढाउन। सोच्नुहोस, यिनै नेपालीहरु हुन् जसले कतारमा सन् २०२२ को विश्च कप फूटबलको लागि अत्याधुनिक ठूला ठूला रंगशालाहरु बनाइरहेका छन्।

यसो गरेमा, हामी सबैको जित हुन्छ।

सोचौँ अब त्यही वाक्क भएर गएका नेपाली दाजु फेरि दुई वर्षपछि घर फर्कदैँछन्।

जहाजबाट ओर्लिने बित्तिकै ऊ, आफु जस्तै कामदारहरुलाई भनेर बनाइएका एउटा छुट्टै द्रुत गतिमा अगाडि बढ्ने लाइनमा उभिन्छ। विमानस्थलका एक कर्मचारीले हँसिलो मुहारका साथ नेपालमा उसलाई स्वागत गर्छ। नेपाल भ्रमण तपाईको आरामसँग बितोस् भन्ने कामना गर्छ र विमानस्थल भित्रैबाट गाउँसम्म जाने टिकट किन्ने ठाउँ देखाइदिन्छन्, जहाँबाट सिधै आफ्नो ठाउँ पुग्न सक्छन। अनि आफ्नो सामानसँगै हाम्रो नेपाली दाजुलाई बाहिर बससम्म पुराइदिन्छन, जहाँ ऊजस्तै ५० जना बसमा आ-आफ्नो घर जान कुरिरहेका हुन्छन्। केही बाधा अडचन बिनै ऊ आफ्नो घर पुग्छ र परिवारसँग मज्जाले समय बिताउँछ। पासपोर्टको लागि मात्र एक घण्टामै नजिकको शहरको कार्यालयमा गएर बनाउँछ।

ऊ अहिले धेरै खुशी छ। आफूले पठाएको पैसाले उसँग एउटा पक्की घर छ। उसकी श्रीमतीले उसले विदेशबाट पठाएको पैसा जुन ब्यांकबाट लिन्थिन्, त्यहींबाट अहिले ऋण निकालेर एउटा सानो व्यापार पनि गरेकी छिन्। अनि त्यो उच्च ब्याजदरको ऋणपत्र जुनमा उनीहरुले बचत गरेका थिए त्यो पनि अर्को वर्ष लिन मिल्नेछ। यो बचत र आफूले अरबबाट सिकेको नयाँ अनुभवले गर्दा, हाम्रो दाजु सोच्नु हुन्छ, “के अब फर्कनु पर्छ र त्यो ४५ – ५० डिग्री ताप्रक्रम भएको अरबमा काम गर्न?”

हामीले २ खर्ब ५० अर्ब रुपैयाँ नेपाल पठाउने आफ्ना नेपाली लगानीकर्तालाई जब कदर गर्न जान्नेछौं, तब मात्र बाँकी संसारले नेपालमा लगानी गर्नेछन्। उनीहरुको सोच – हामीले आफ्नो लगानीकर्तालाई जस्तो व्यवहार गर्छौँ त्यस्तै नै व्यवहार गर्छौ विदेशी लगानीकर्ताहरुलाई पनि। उनीहरु त जहाँ लगानीकर्ताहरुको कदर हुन्छ, त्यहीँ नै आफ्नो लगानी लान्छन।

तसर्थ आजैदेखि हाम्रा यी देश धान्ने साढे दुई अरब भित्राउने स्वदेशी लगानीकर्ताहरु यानी नेपाली कामदारहरुलाई उच्च सेवा दिन पहल गरौँ। विश्वले हामीलाई हेरिरहेकाछन्।http://www.nrnaksa.org/

Comments :

0 comments to “साढे दुई खर्ब भित्र्याउनेलाई यस्तो व्यवहार !”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger