Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

मान्छेसंगै कुकुरको पनि काल !

नेपालमा नै प्रथम पटक जापान सरकारको सहयोगमा काठमाडौंको तीनकुनेदेखि भक्तपुरको सूर्यविनायकसम्म निर्मित नौ दशमलव एक किलोमिटरको ६ लेनको नामले प्रचारित तर चार लेनको सडक आधिकारिक रुपमा प्रधानमन्त्री झलनाथ खनालले समुद्घाटन गरेपछि गतहप्तादेखि प्रयोगमा आएको हो । ३० महिनाभित्र सम्पन्न गर्ने सम्झौताअनुसार सन् २००८ को नोभेम्बर महिनाबाट जापानिज निर्माण कम्पनी हाज्माले निर्माण गरेको उक्त सडकको लागत मूल्य एक दशमलव ९९ बिलियनमध्ये जापान सरकारका तर्फबाट एक दशमलव ७७ बिलियन र नेपाल सरकारको तर्फबाट २ सय ११ मिलियन खर्च गरिएको हो । निर्माण शुरु हुँदादेखि निर्माण सम्पन्न गरेर उद्घाटन गर्दासम्म ६ लेनको सडक भनेर चिनिने उक्त सडकलाई चार लेनको भनेर जापान सरकार र जापानिज एम्बेसडरले समेत भनेका छन् । सडकलाई दुई भागमा विभाजन गरी बीचमा डिभाइडर राखिएको उक्त सडकको दुवैतर्फ तीन–तीन लेन भए पनि दुवैतिरको दायाँतर्फको लेन पहेंलो बोर्डर लाइनले छुट्याइएको र तुलनात्मक रुपमा अन्य दुई वटा लेनभन्दा थोरै चौडाइको बनाइएको हुँदा दुवैतर्फको अन्तिमका लेनहरु आकस्मिक निकासका लागि निर्माण भएको हो ।
यातायात व्यवस्था विभागले ६ लेनको रुपमा परिभाषित गरे पनि जापान सरकारले चार लेनका रुपमा निर्माण गरेको कुरा ट्राफिक कार्यालयका कार्यकारी प्रवक्ता कुवेर कठायत बताउनुहुन्छ । प्रचार ६ लेनको भए पनि उक्त सडक चार लेन मात्र भएको कुरा कठायत बताउनुहुन्छ । नेपालमा नै प्रथम पटक निर्माण गरिएको उक्त बहुलेनको ९ दशमलव १ किलोमिटरको सडकमा उद्घाटनपूर्व नै ज्यानै जाने गरी १३ वटा दुर्घटना भइसकेका छन् भने ससाना दुर्घटना अनगिन्ती भइसकेका छन् ।
लेनको सडक मान्छे र कुकुरको काल
सडकको औपचारिक उद्घाटनपूर्व नै १३ जनाको दुई महिनाको अन्तरालमा मृत्यु भइसकेको छ । सभासद् डम्बरबहादुर खड्कादेखि १२ वर्षीय निकुञ्ज थापा मगरसम्मको उक्त सडक दुर्घटनाबाट मृत्यु भइसकेको छ । ९ किलोमिटरको सडकमा जम्मा चार स्थानमा सडकबत्ती जडान गरिएका छन्, त्यसमा पनि भक्तपुर सल्लाघारी चोकको सडकबत्ती चालू हालतमा छैन । ३० किलोमिटर प्रतिघण्टा गति सीमितको निर्देशन दिइएको उक्त सडकमा ३० किलोमिटर प्रतिघण्टाको गतिमा हिँडाउन लगभग असम्भव भएको कुरा भक्तपुरका मोटरसाइकल चालक महेश ताम्राकार बताउँछन् । मोटरसाइकल चालक ताम्राकारका अनुसार ८० किलोमिटर प्रतिघण्टामा न्यूनतम कुदाउनुपर्ने सडकमा ३० किलोमिटरको गति सीमित गर्नु अत्यन्त हास्यास्पद छ । कसैले पनि यो नियम पालना गरेका पनि छैनन् र ट्राफिकले पनि नियम उल्लंघन गर्नेलाई कुनै कारबाही गरेजस्तो लाग्दैन ।
पैदल यात्रुहरुलाई बाटो पार गर्न सहजताका लागि व्यवस्था गरिएको जेब्रा क्रसिङ ठाउँठाउँमा त छ तर जहाँ जेब्रा क्रसिङ छ, त्यहाँ ट्राफिक बत्ती नभएको कारण दुर्घटना बढेको स्थानीय बासी बताउँछन् । लोकन्थलीका किराना पसल सञ्चालक बलराम तिवारीका अनुसार लोकन्थली चोकमा मात्र तीन महिनामा सानाठूला गरेर ५०–६० वटा दुर्घटना भइसकेका छन् । दिनमा एकदुई वटा मोटरसाइकल दुर्घटना त्यो सडकमा सामान्य भइसकेको कुरा तिवारी बताउँछन् । सडकबत्ती नभएका कारण जेब्रा क्रसिङबाट पार गर्ने पैदलयात्रुलाई गाडी तथा मोटरसाइकलले पेल्ने प्रवृत्ति भएको कारण दुघर्टना हुने गरेको तिवारी बताउँछन् । बच्चाहरु विद्यालय जानृे र आउने समयमा ढुक्क भएर परिवारका मान्छे बस्न सक्ने अवस्था नभएको कुरा स्थानीय पसल व्यवसायी तिवारी बताउँछन् ।
कुनै जमानामा नगरपालिकाले भुस्याहा कुकुरको बिगबिगी समाप्त पार्न अभियान नै चलाएको काठमाडौंमा हाल सञ्चालनमा आएको बहुलेन सडक बनेपछि भने नगरपालिकालाई फेरि यस्तो अभियान चलाउने झण्झट नहुने भएको छ । दैनिक २० वटाभन्दा बढी कुकुरहरु उक्त बाटोमा किचिएर मर्ने गरेका छन् । झनै रातिको समयमा मदिराले मस्त भएर गाडी चलाउने चालकहरुका सिकार निर्दोष सडकमा खेलिरहेका कुकुर बन्ने गरेका छन् । बिहानीपख तीनकुनेदेखि सूर्यविनायकसम्म यात्रा गर्ने हो भने किचिएर मरेका कुकुरहरुको ठाउँठाउँमा देखिने दृश्यका कारण सडकको अवस्था भयावह देखिने गरेको छ ।
जनताको सुविधाका लागि निर्माण गरिएको आधुनिक सडकमा तुलनात्मक रुपमा अधिकतम दुर्घटना हुनुका कारण के हो भन्ने प्रश्नको जबाफमा २० वर्षदेखि गाडी चलाउँदै आएका काभ्रेका पदम लामा भन्छन्– ‘हामीले यस्तो बाटोमा कहिल्यै गाडी चलाएकै छैन । यस्तो बेलामा चलाउँदा कसरी दुर्घटना कम हुन्छ भनेर हामीलाई न ट्राफिकले सिकाएको छ न त हामीले कहीँ पढेकै छौं ।’ बिहान–बिहान कलेज जाने विद्यार्थीहरु १२० किमि प्रतिघण्टाको गतिमा मोटरसाइकल कुदाउँछन् । कसले रोक्ने ? धेरै कुदाएकोमा कसैलाई जरिवाना गरेको पनि थाहा छैन । बीच सडकबाट मान्छेहरु बाटो काट्छन्, स्पिड बढी भएको गाडीले हिर्काउन सक्छ । ट्राफिक बत्ती ठाउँठाउँमा छैन । पैदल यात्रु र गाडीचालक कसैमा चेतना छैन अनि त दुर्घटना बढी हाल्छन् नि ! –प्रतिप्रश्न गर्छन् चालक लामा ।
जाम हट्यो, दुर्घटना बढ्यो, जग्गाको भाउ आकासियो
६ लेनको सडक बनेपछि कोटेश्वरबाट पूर्वतर्फ लागेपछि घण्टौंसम्म जाममा फसेर कुर्नुपर्ने झण्झटबाट भने मुक्ति मिलेको छ । तर, ठूलो बाटोको जानकारीको कमीका कारण दुर्घटना संख्या पनि चुलिएको छ । त्यसको साथै त्यस क्षेत्रका जमिनको मूल्य पनि चुलिएको छ । ६ लेन बन्नुभन्दा पहिले आनाको सात लाखमा विक्री वितरण हुँदै आएका जग्गा अब आनाको २० लाखदेखि २५ लाखसम्म विक्री वितरण हुन थालेको छ । सडकका छेउका जग्गा मात्र होइन भित्री जग्गाहरुको मूल्य पनि सँगसँगै आकासिएको छ ।
साभारः vishwanews

Comments :

0 comments to “मान्छेसंगै कुकुरको पनि काल !”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger