Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

सबै अग्ला हिमाल चढेर कीर्तिमान

(हाम्रो संखुवासभा) जेष्ठ ७ - कञ्चनजंघाको टुप्पोमा पहिलो पटक शुक्रबार बिहान पाइला टेक्दा मिग्मा शेर्पाको खुसीको सीमै थिएन । चुचुरोबाटै उनले आफन्तलाई सेटलाइट फोनमार्फत सुनाए, 'मैले समिट गरें ।' उचाइका हिसाबले कञ्चनजंघा (८५८६ मिटर) तेस्रो अग्लो हिमाल हो । कञ्चनगंघा माथिको विजयसँगै उनी आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल पुग्ने पहिलो नेपाली बनेका छन् ।  विश्वका १४ वटै उच्च हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेकाले उनी यति उत्साहित भएका थिए ।
यो कीर्तिमानका लागि उनी लोकतन्त्र दिवसका दिन (बैशाख ११) मा त्यसतर्फ लागेका थिए । मिग्माले कञ्चनजंघाको सफल आरोहण गरेको जानकारीमा आएको पर्यटन उद्योग महाशाखाले जानकारी बताएको छ । नेपाल पर्वतारोहण प्रतिष्ठानकी कार्यकारी निर्देशक लाक्पा सुती शेर्पाले पनि मिग्माले कञ्चनजंघा आरोहण गरेको जानकारीमा आएको बताइन् ।
संखुवासभास्थित मकालु हिमालको काखैमा रहेको नुर्वुचौरका ३२ वर्षीय शेर्पाले बिहान ५ बजेर २० मिनेट जाँदा चुचुरोमा पाइला टेकेको फोनमार्फत बताए । 'सबै उच्च शिखर आरोहण गर्ने नेपाली हुन सकेकामा आफ्नो मुलुक र मुलुकवासीलाई सम्झेर मलाई गौरव महसुस भइरहेको छ,' उनले भने, 'त्यो खुसी सबै नेपाली दाजुभाइलाई बाँड्न
म आतुर छु ।' उनले नजिकै देखिएका एभरेस्ट, मकालुलगायत हिमाल हेर्दै आरोहणमा सँगै रहेका साथीसँग खुसी बाँडिरहेको बताए ।
आरोहणबाट फर्केपछिको आफ्नो गाउँ नुर्बुचौरका बासिन्दासँग पहिलो खुसी साट्ने उनले बताए । 'संसारका अग्ला सबै हिमाल आरोहण गरेर रेकर्ड राखेको खुसियाली परिवार, साथीसंगी र छिमेकी गाउँलेहरूसँग साट्ने योजना बनाएको छु,' उनले भने ।
पहिलो प्रयासमै सबै आरोहण गर्ने विश्वकै पहिलो आरोही आफू भएको मिग्माले दाबी गरे । 'एकै प्रयासमा सबै उच्च शिखर कसैले चढ्न सकेका छैनन्,' उनले भने, 'कसैको प्रायोजनविना चढ्ने पनि म मात्रै हुँ ।' विदेशी आरोहीहरूले विभिन्न कम्पनी, संघसंस्थाको प्रायोजनमा हिमाल आरोहण गर्ने गरेका छन् ।
बाबुआमाले जंगलमा राखेको भेंडीगोठमा जन्मेका मिग्माले हिमालसँग दिनहुँ साक्षात्कार गर्दै बाल्यकाल बिताएका थिए । कामको खोजीमा राजधानी पसेका उनी आरोहीहरूको भारी बोक्ने क्रममा हिमाल आरोहणतिर लागेका थिए । उनले सन् २००० मा पहिलो पटक ८ हजार मिटरभन्दा अग्लो हिमाल मनास्लु (८१६३ मि) आरोहण गरेका थिए । त्यसबाट हौसिएका उनले त्यही वर्ष चोयु (८२०१ मि) आरोहण गरे ।
त्यसपछि २००१ मा उनले आफ्नै गाउँ छेउको मकालु (८४६३मि), त्यसै वर्ष तिब्बतको सिसापाङमा (८०२७ मि), अर्को वर्ष लोत्से (८५११ मि), २००३ मा पाकिस्तानको ब्रोड पिक (८०४७ मि) र जी २ (८०३५ मि), २००४ मा सर्वोच्च शिखर सगरमाथा (८८४८ मि) र पाकिस्तानको के २ (८६११ मि) आरोहण गरे ।
अग्ला नौ वटा मिहाल आरोहण गरेपछि उनी बिरामी परे । उपचारका क्रममा जापान पुगेका उनले झन्डै ५ वर्ष त्यहीँ बिताए । सन २००९ मा स्वदेश फर्केपछि उनले त्यहाँ कमाएको रकम आरोहणमा खर्च गर्न थाले । सन् २०१० को एकै वर्ष उनले अन्नपूर्ण (८०९१ मि), धौलागिरि (८१६७ मि), पाकिस्तानको नंगा पर्वत (८१२५ मि) र त्यहीँकै जी १ (८०६५ मि) गरी चार हिमालको सफल आरोहण गरेका थिए ।
विदेशी धेरैले अग्ला शिखर आरोहण गरेको रेकर्ड राखेका छन् । 'नेपालमै अग्लामध्ये अधिकांश हिमाल भएर पनि नेपालीका नाममा त्यस्तो रेकर्ड नहुँदा मलाई निकै दुःख लाग्यो,' शेर्पाले आरोहणमा जानुअघि भनेका थिए, 'त्यसैले एउटा नेपालीले पनि यस्तो कीर्तिमान कायम गर्न सक्छ भन्ने देखाउन आरोहणतिर लागेको हुँ ।'
मिग्माका अरू दुई भाइ पनि आरोही छन् । भाइ छाङदावाले पनि दाजुलाई पछ्याउँदै विश्वका अग्ला ८ हिमाल आरोहण गरिसकेका छन् । कंचनजंघा आरोहणमा पनि यी दाजुभाइसँगै छन् ।

Comments :

0 comments to “सबै अग्ला हिमाल चढेर कीर्तिमान”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger