नेपाल र मलेसिया कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोतसव मनाइरहेका छन् । यही सन्दर्भमा अखण्ड भण्डारीले हालै क्वालालम्पुरमा मलेसियास्थित नेपाली राजदुत र काठमाडौंमा मलेसियाली राजदुतसँग गरेको कुराकानी
लगानीकर्ता खोजिरहेका छौं
-डा.ऋषि अधिकारीनेपाली राजदुत,क्वालालम्पुर
नेपाल-मलेसिया
कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षको सन्दर्भलाई दुई देशले कसरी उपयोग गर्दैछन् ?
दुवै देशका सरकार र जनताले खुसी व्यक्त गरेका छन् । पचास वर्षदेखि दुई देशबीच आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध सुदृढ भइरहेको छ । हालै मलेसियाली व्यापारीका दुई ठूला समूहले नेपाल भ्रमण गरी लगानीका क्षेत्र खोजी गरेपछि केही योजना कार्यान्वयन हुन गइरहेका छन् । नेपाली व्यापारी र उद्योगपतिहरूको टोलीले पनि मलेसिया भ्रमण गरी विभिन्न क्षेत्रमा व्यापार वृद्धि गर्ने योजना अघि बढाएका छन् ।
मलेसियाका व्यापारी नेपालमा लगानी गर्न इच्छुक देखिएका बेला, कूटनीतिक नियोगसँग के-कस्ता 'डिलिङ’ भइरहेका छन् ?
दूतावासको पहलमा मलेसिया-नेपाल बिजनेस काउन्सिल दर्ता गराई मलेसियाका ठूला व्यापारी-उद्योगपतिले दुई देशबीचको व्यापार र उद्योगलाई अघि बढाएका छन् । दूतावासले मलेसियन लगानीकर्ताको खोजी, छलफल तथा उत्साहित गर्ने काम गरेको छ । नेपालमा शान्ति र स्थिरताको वातावरण बहाल भएकाले लगानी गर्ने उपयुक्त वातावरण बन्दै गएकोबारे प्रचार-प्रसार गरिएको छ । मलेसियाका ऊर्जा कम्पनी, एयरपोर्ट अथोरिटी र एयरलाइन्सहरूलाई नेपाल भ्रमण गराई पर्यटन वृद्धि गर्ने योजना अघि बढ्दैछन् ।
मलेसियामा नेपालीको श्रमबजार बढ्दो छ । यहाँ कार्यरत नेपालीको अवस्थाचाहिँ कस्तो छ ?
अधिकांशको अवस्था ठीक छ । केही श्रमिक भने बिभिन्न किसिमका समस्या भोगिरहेका छन् । कुनै एक कम्पनीमा आएर अर्कैमा गए यहाँ गैरकानुनी ठहरिन्छ र कुनै बेला पनि थुनामा परी ३ देखि ६ महिना जेल काट्न बाध्य हुनुपर्छ । यस्ता समस्या भोग्ने यहाँ निकै छन् । जाली पासपोर्ट र कागजात थमाएर पठाउने समस्या पनि छ । त्यस्तो पाए विमानस्थलमै थुनिन्छन् । म्यानपावर, रोजगारदाता र तिनका एजेन्टबीच कमिसनको कुरा नमिल्दा मलेसियाको विमानस्थलमा लिन कोही जाँदैन । सम्झौता अनुसारको तलब नदिने, भनेअनुसार भन्दा गाह्रो काम लगाउने जस्ता समस्याबाट पनि श्रमिक शोषित भएको पाइन्छ । मलेसिया सरकारले मिनाहा गरिसकेको लेबी अझै कतिपय कम्पनीले श्रमिकबाटै काट्ने गरेको पाइन्छ । ९५ प्रतिशत नेपाली उत्पादन र सेवा क्षेत्रमा काम गर्छन् । न्यूनतम तलब ५४६ रिंगेट पाउँछन् । तर नेपालमा श्रमिकहरूसँग ४८१ रिंगेटको अर्को सभ्झौता गराएको पनि पाइएको छ । एउटा कम्पनीको भिसा निकालेर अर्कैमा गैरकानुनी र गाह्रो काममा लगाउनेसमेत छन् ।
दुई देशबीच श्रम सम्झौता हुनसकेको छैन, किन ?
दुवै देशका सम्बन्धित मन्त्रालयबाट श्रम सम्झौता पुनरावलोकन हुने प्रक्रिया पूरा भएको छ । एक-दुई महिनाभित्रै सम्झौता हुने पक्का छ ।
त्यो सम्झौतामा के-के कुरा हुनेछन् ?
श्रम सम्झौतामा समेटिएका मुख्य बुँदामा नेपालबाट श्रमिकको उमेर, स्वास्थ्य, मलेसियाबारे जानकारी, अपराधमा संलग्नता, मलेसियामा रहने अवधि आदि समेटिएका छन् । श्रमिक ल्याउँदा पालना गर्नुपर्ने पद्धति, रोजगारदाता, म्यानपावर कम्पनी र श्रमिकले पालना गर्नुपर्ने बुँदाहरू पनि छन् । कम्पनी र श्रमिकहरूबीच हुने सम्झौताको नमुना पनि संलग्न गरिएको छ ।
मेडिकल फेल भएर मलेसियाबाट नेपाली श्रमिक र्फकने क्रम बढेको छ । यही सन्दर्भमा नेपाली विशेषज्ञ टोली मलेसिया आएको थियो । तपाईंकै नेतृत्वमा टोलीले विभिन्न निकायसँग कुरा गर्यो । समस्या के हो र समाधान के निस्क्यो ?
मलेसियाबाट मेडिकल फेल भई र्फकनेको संख्या गतवर्ष चार सयभन्दा बढी पुगेको छ । फर्किएका श्रमिकहरूको आर्थिक लगानी फिर्ता गर्नुपर्ने भएकाले मेडिकल गर्ने संस्थाहरूको ठूलो धनराशि नोक्सान भएको छ । एक्सरे गर्दा केहीको छातीमा कालो दाग देखिन गए मलेसियामा काम गर्न नसक्ने भनी फर्काइन्छ । नेपाली टोलीले यहाँको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको संघ -फोमेमा), मानव संसाधन मन्त्रालय, मेडिकल एसोसियसन आदिसँग भेटघाट गर्यो । त्यस अवसरमा कालो दाग निको भइसकेको, टीबी वा निमोनिया भएको, त्यो फेरि नबल्भिmने र श्रमिक काम गर्न अक्षम नहुने तथ्यलाई वैज्ञानिक तरिकाले पेस गरेको थियो । आउने दिनमा यस्ता समस्या र स्वास्थ्यसम्बन्धी अन्य विषयलाई सुल्झाउन नीतिगत निर्णय गर्ने/गराउने सहमति भएको छ ।
नेपाल-मलेसियाबीच सम्बन्ध विस्तारका अन्य कुनै क्षेत्र छन् ?
शिक्षा क्षेत्रमा सम्बन्ध विकास गर्ने निकै ठूलो सम्भावना छ । दूतावासले नेपाल श्रमिक पठाउने देशमात्र नभई मेडिकल, इन्जिनियरिङ, लेखा आदिका लागि पनि भरपर्दो देश भएको प्रचार-प्रसार गरेको छ ।
मलेसिया नेपालमा लगानी गर्न चाहन्छ
– दातो इलान्कोभान कोलान्दाभेलु मलेसियाली राजदुत, काठमाडौं
नेपाल-मलेसियाबीच कस्तो सम्बन्ध छ ?
यो वर्ष हामी नेपाल-मलेसिया कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष भयो । त्यही क्रममा १२ वर्षअघि हामीले यहाँका लागि श्रम बजार खुला गर्यौं । त्यो द्विपक्षीय सम्बन्ध सुमधुर हुने प्रवेशविन्दु थियो । मलेसियामा सन् ५० र ६० को दसकमा शान्ति सुरक्षा स्थापनार्थ गोर्खा सैनिकले पुर्याएको योगदान पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले नेपाल र मलेसियाबीच धेरै घनिष्ठ एवं सौहार्दपूर्ण सम्बन्ध छ ।
दुई देशबीचको आर्थिक सम्बन्ध कस्तो छ ?
गतवर्ष नेपालबाट उद्योग वाणिज्य महासंघको ६० सदस्यीय टोलीले मलेसिया भ्रमण गरेको थियो । टोलीले मलेसियाका उद्योगी-व्यवसायी एवं सरकारका विभिन्न निकायका प्रतिनिधिसँग भेटघाट गरेको थियो । यस वर्ष मार्चमा मलेसिया-नेपाल बिजनेस काउन्सिलबाट ३८ सदस्यीय प्रतिनिधिमण्डले नेपाल भ्रमण गरेको थियो । फेरि यही डिसेम्बर २ देखि ६ सम्म काउन्सिलकै ६० जनाको टोली नेपाल आएको थियो । व्यवसायीको ठूलो टोलीले यही वर्ष दुईपटक भ्रमण गर्नु निकै महत्त्वपूर्ण छ । यी भ्रमण खासगरी व्यापार, लगानी र आर्थिक सम्बन्धमा केन्दि्रत थिए ।
भ्रमणका अवसरमा केही निर्णय पनि भए कि ?
पहिलो, मलेसियाका व्यवसायी र नेपाली व्यापारिक समुदायबीच सम्बन्ध एवं सञ्जाल विकास भएको छ । त्यस्तै शिक्षा, व्यापारजस्ता केही क्षेत्रमा सम्झौता भएको छ । मलेसियाका व्यवसायी नेपालमा ठूलठूला पूर्वाधार निर्माण -जलविद्युत, राजमार्ग, विमानस्थल लगायत) मा लगानी गर्न तयार छन् । त्यसलाई राजनीतिक अस्थिरताले अल्झाएको छ । नेपालका श्रमिक संगठनका गतिविधिले पनि केही निरुत्साहित बनाएको छ । तैपनि हामी सही समय पर्खिइरहेका छौं । जब राजनीतिक स्थिरता हुनेछ, मलेसियनहरू लगानी गर्न आउनेछन् ।
त्यो सही समय छिट्टै आउने देख्नुभएको छ ?
यसका लागि तपाईंले भारत-मलेसिया आर्थिक सम्बन्धलाई हेर्नुभए हुन्छ । मलेसियन कम्पनीले भारतमा ५ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । भारतमा सडक, बम्बई मोनोरेल एवं बन्दरगाहजस्ता पूर्वाधार निर्माणमा मलेसियनको लगानी छ । यहाँ पनि त्यस्ता लगानी सजिलै आउन सक्छन् तर त्यसका लागि उपयुक्त वातावरण आवश्यक छ । त्यो भनेको शान्ति-सुरक्षा राम्रो हुनुपर्यो अनि युनियनहरूले सहयोगी भूमिका देखाउनुपर्यो । साथै यसका लागि आर्थिक नीति पनि आवश्यक पर्छ । त्यति भए आउन समय लाग्दैन ।
तत्काल गरिहाल्ने कुनै योजना छन् कि ?
त्यस्तो तयारी हालतमै त केही छैनन् । तर भर्खरै आएको मलेसियन टोलीले जलविद्युत् र विमानस्थल निर्माणमा उत्सुकता देखाएको छ । त्यस्तै अर्को पहल भइरहेको योजना हो लुम्बिनी क्षेत्रको बृहत् विकास । यसका लागि ठूलो लगानी गर्ने योजना छ । यसले लुम्बिनीको पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउने अपेक्षा छ । एसियामा करिब १५ करोड बुद्ध धर्मावलम्बी छन् । यहाँको हवाई दूरी १ देखि ५ घन्टामात्र छ । तिनीहरूमध्ये १ प्रतिशतलाई लुम्बिनी ल्याउन सक्ने हो भने वाषिर्क रुपमा १५ लाख पर्यटक यहाँ भित्रिनेछन् । लुम्बिनीसँग पोखरा, चितवनजस्ता अन्य सहर अनि हिन्दु धार्मिक स्थलहरूलाई पनि जोड्न सकिन्छ । नेपालमा धार्मिक पर्यटनको सम्भावना प्रचुर छ । त्यसैले एयर एसियाको रणनीतिक साझेदारीमा मलेसियाको एउटा व्यापारिक समूह लुम्बिनीलाई 'अन्तर्राष्ट्रिय शान्तिस्थल' का रूपमा विकास गर्न इच्छुक छ । साथै त्यो समूह लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चाहन्छ, जहाँ एयर एसियाले १५ करोड बुद्ध धर्मावलम्बीलाई उडाएर ल्याउने बजार देखेको छ ।
यो प्रक्रिया कहाँ पुगेको छ ?
त्यो व्यापारिक समूहले प्रस्ताव राखेको छ । बाँकी कुरा नेपाल सरकारको निर्णयमा निर्भर छ ।
मलेसिया जस्तो मुस्लिम मुलुकका व्यापारी कसरी बुद्ध धर्मको पवित्रस्थलमा लगानी गर्न उत्सुक भए ?
मलेसियालाई मुस्लिम मुलुकका रूपमा लिइन्छ । त्यसको मतलब त्यहाँ बहुसंख्यक मुस्लिम छन् । मलेसियामा ६० लाख बुद्ध धर्मावलम्बी र १८ लाख हिन्दु छन् । क्रिश्चियन पनि छन् । लुम्बिनीमा लगानी गर्न चाहने समूह सरकारी पनि त होइन नि । व्यापारिक समूह हो । मुख्य लगानीकर्ता, जो चिनियाँ मूलका मलेसियन बुद्ध धर्मावलम्बी हुन् ।
यसबाहेक अरू योजना पनि छन् कि ?
अर्को एक समूहले पोखराको लेकसाइड विकासका लागि प्रस्ताव गरेको छ । सबै कुरा नेपाल सरकारको नीति र निर्णय कस्तो हुन्छ, त्यसमा भर पर्नेछ ।
प्रसंग बदलौं, मलेसियाको नजरमा नेपाली श्रमिक कस्ता छन् ?
हामी नेपाली कामदारदेखि खुसी छौं । उनीहरू मिहेनती छन् । काम गर्न जान्छन्, कुनै समस्या खडा गर्दैनन्, पैसा कमाउँछन्, घर पठाउँछन्, र्फकन्छन् । कुनै समस्या नभएकैले हामीले नेपाली कामदार निरन्तर विस्तार गर्दै गएका छौं । यो संख्या करिब ४ लाख पुगिसकेको छ । उनीहरूले वर्षेनि ५० करोड अमेरिकी डलर -३५ अर्ब रुपैयाँ) नेपाल पठाउँछन् ।
दुई देशको अर्थतन्त्र विकासमा उनीहरूको योगदान कस्तो छ ?
नेपालबाट मलेसिया पुग्ने अधिकांश श्रमिक पहाडी र हिमाली भेग अर्थात् दुर्गमका वासिन्दा छन् । उनीहरूको श्रमले मलेसियाको अर्थतन्त्रमा पुगेको टेवा एवं कमाइले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानसँगै खुसीको कुरा नेपाल भित्रिने रेमिट्यान्सको ठूलो हिस्सा दुर्गममा पुग्छ । त्यसैले यो दुर्गम भेगमा पनि आयआर्जन र प्रगतिको आधार बनेको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “लगानीकर्ता खोजिरहेका छौं”
Post a Comment