आज फूलपाती
असोज २८। बडादसैअन्तर्गत सप्तमी तिथिमा आज अधिराज्यभरि परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँने गरिन्छ। दुर्गा भवानीको प्रतिमा राखिएको दसैँघरमा फूलपातीको शुभसाइतको रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ। सो फूलपाती गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरमा पूजारीसहित मगरजातिका छजनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका बाहुन जातिका छजनाले ल्याउने परम्परा छ।
हर्षबढाइँका साथ फूलपाती भित्र्याउन गुरुज्युको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङ्गारिएका कल्स्यौडीहरू र साँस्कृतिक नाचगानसहितको लावालस्कर हनुमानढोकाबाट जमल प्रस्थान गर्दछ। घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दसैँंको विशेष चहलपहल भने फूलपातीका दिनदेखि नै सुरु हुन्छ।
फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर दुर्गा भवानीको टीका थाप्न आ–आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र भएको छ। गाउँघरमा फूलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दसैँको रौनकलाई अझ बढाउँछन्।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “आज फूलपाती”
Post a Comment