Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

युनिटीका मुख्य सहयोगी पक्राउ

कृष्ण ज्ञवाली
ललितपुर, भाद्र २३ - प्रहरीले युनिटी सञ्चालकका मुख्य सहयोगी घनश्याम बस्ताकोटीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको विशेष टोलीले मंगलबार काठमाडौंको स्युचाटारबाट उनलाई नियन्त्रणमा लिएको हो । ललितपुरका प्रहरी उपरीक्षक विक्रमसिं थापाले उनलाई बुधबार अदालतमा पेस गरिने जानकारी दिए । बस्ताकोटीविरुद्ध ठगी र बैंक कसुर गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा दायर भइसकेको छ ।


युनिटीका सञ्चालकले खरिद गरेको जग्गा र सम्पत्तिमध्ये अधिकांश बस्ताकोटीका नाममा रहेको प्रहरीले जनाएको छ । युनिटी सञ्चालक समिति र सबैभन्दा बढी कमिसन खाने \'डबल प्रेसिडेन्ट\' सूचीमा नरहे पनि बस्ताकोटीले मुख्य सञ्चालकको मिलेमतोमा लाखौं रकम कुम्ल्याएको पुष्टि भएको प्रहरीको दाबी छ । \'मुख्य सञ्चालकका विश्वासी बस्ताकोटी करोडौं कारोबारमा संलग्न भएको भेटियो,\' प्रहरी उपरीक्षक थापाले कान्तिपुरसित भने, \'ठूलो कारोबार भएको भेटिएकाले उनीमार्फत थुप्रै रकम र सम्पत्ति अदृश्य बनाएको आशंकामा छानबिन गरिरहेका छौं ।\'

फरार युनिटी अध्यक्ष काशी गुरुङ र प्रबन्ध निर्देशक विष्णु खत्रीसँग निकट सम्बन्ध रहेका बस्ताकोटी पक्राउपछि युनिटीको गोप्य कारोबार र सम्पत्तिबारे थप खुलासा हुने सम्भावना छ । २०६५ यता २३ ठाउँका खरिद भएका जग्गामध्ये आधाजसोमा प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले बस्ताकोटीको संलग्नता भेटेको हो । युनिटीकै भनेर नखुलेको धेरै जग्गासमेत बस्ताकोटीका नाममा रहेको आशंका छ । २३ मध्ये १४ वटा युनिटीको नाममा जग्गा दर्ता भएको छ भने बाँकीमा बास्ताकोटीको नाम थियो ।

कामपा-३ मा काशीराम गुरुङको नाममा घनश्याम बस्ताकोटी वारेस बसी १ सय ६० वर्गमिटरको दुई टुक्रा जग्गा पास भएको थियो । युनिटी रियलस्टेट र हाउजिङका नाममा कामपा १५ मा ६ टुक्रा जग्गा पनि फेला परेको छ । बयानमा बस्ताकोटीले ६५ लाखमा जग्गा किनेको स्विकारेको प्रहरी भनाइ छ । युनिटी लाइफ रियलस्टेट एन्ड हाउजिङ प्रालिका नाममा २०६५ चैत २४ मा ओम शिव स्टोर प्रालिसँग सात करोड रुपैयाँमा खरिद भएको जग्गा ३ हजार ३ सय ८२ वर्गमिटर क्षेत्रफलको छ ।
२०६५ साउन र भदौमा मात्रै ३ लाख ३८ हजार लगानीमा ठूलो परिमाणमा जग्गा खरिद गरिएको हो । यस्तै धापाखेल-७ मा घनश्याम बस्ताकोटीकै नाममा आधा रोपनी जग्गा फेला परेको छ । काभ्रेको धुलिखेल र सुब्बागाउँमा करिब ११ रोपनी जग्गा करिब २३ लाखमा किनिएको थियो । राजधानी बाहिर काभ्रे, कैलाली, सुनसरी, बागलुङ, कास्की, चितवन, इलाम, रूपन्देही र लमजुङमा पनि युनिटी सञ्चालक र बस्ताकोटीको नाम जोडिएको जग्गा संयुक्त अनुसन्धान टोलीले यसअघि नै पत्ता लगाएको थियो । युनिटी र यससँग संलग्न व्यक्तिका सबै जग्गा हाल रोक्का छन् ।
प्रहरीका अनुसार बयानका क्रममा बस्ताकोटीले युनिटी मुख्यालयमा भेटिएका कागजातमा उल्लेख बाहेकका धेरै जग्गाको विवरण खुलाएका छन् । यसबाट अहिलेसम्म पत्ता नलागेको कारोबार भेटिने प्रहरीको भनाइ छ । बस्ताकोटीले स्वयम्भूमा सात रोपनी, पोखराको सिमलचौर र इटहरीमा रहेको अस्पताल, काठमाडौं साङलामा ७२ रोपनी जग्गा र भक्तपुरमा प्लटिङ गरेको जग्गासमेत आफ्नो नाममा रहेको बयान दिएका छन् । स्वयम्भूमा ६५ लाखको घर र ३१ लाख रुपैयाँमा खरिद भएको बा६च ३१ नम्बरको किया कारसमेत आफ्नो

नाममा रहेको उनले प्रहरीलाई बताएका छन् ।

उनले स्टान्डर्ड चार्टर्ड बैंकमा १७ लाख र थप दुई बैंकमा १४ लाख नगद रहेको र जग्गा धितो राखी इन्टरनेसनल डेभलपमेन्ट बैंकबाट एक करोड ३५ लाख र अरू विभिन्न बैंकबाट २० लाख ऋण लिएको बताएको प्रहरीको भनाइ छ । \'सर्वसाधारणको अबौर्ं रकम कुम्ल्याएका सञ्चालकसँग मिलेमतो गरी जग्गा खरिद गरी त्यसलाई धितो राखी फेरि अरूतिर लगानी गर्ने प्रवृत्ति देखियो,\' उपरीक्षक थापाले भने । बस्ताकोटीलाई ललितपुर प्रहरी परिसरमा हिरासतमा राखिएको छ ।



Comments :

0 comments to “युनिटीका मुख्य सहयोगी पक्राउ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger