Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

विद्यालय जीवनमै प्रेम विवाह गर्ने बढे


भिषा काफ्ले
टिनएजमा केटा-केटीबीच प्रेमसम्बन्ध हुनु नौलो कुरा होइन, तर माध्यमिक तहमै प्रेमविवाह गर्ने एक जोडी यहाँ विद्यालयबाटै निष्कासित भएको छ । विद्यालयमा अध्ययनरत अवस्थामा विवाह गरी विद्यालयको वातावरण नै धुमिल्याएको भन्दै एक नवविवाहित जोडीलाई बुधबारेस्थित शारदा उच्च माविले निष्कासन गरेको हो ।


नेपालको कानुनअनुसार विवाह गर्न चाहने केटा र केटी दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्छ त्योभन्दा कम उमेरमा विवाह गर्न वर्जित छ ।
शारदा उच्च माविको १० कक्षामा अध्ययनरत सन्तवीर तामाङ तथा ८ कक्षाकी बबिता तामाङले दुई साताअघि प्रेमविवाह गरेका थिए । विद्यालयस्तरमा छात्रछात्राबीचको विवाहले अन्य विद्यार्थीमा नकारात्मक प्रभाव पर्ने भएकाले दुवैलाई निष्कासन गर्नुपरेको विद्यालयका प्राचार्य विश्वनाथ दाहाल बताउँछन् ।
विद्यालयस्तरमा रहँदै विवाह गरिएको यो पहिलो घटना भने होइन । धनकुटामा हालसम्म दर्जनौंले त्यस्तो विवाह गर्दै आएकाले यो पुरानै चलन भएको स्थानीय बासिन्दाहरूको भनाइ छ । सन्तवीर र बबितालाई विद्यालय प्रशासन एवं व्यवस्थापन समितिको बैठकले निष्कासन गर्ने निर्णय गरेको हो । प्राचार्य दाहालले भने— ‘आगामी दिनमा यस्तो कार्य गर्ने सबैलाई कारबाही हुनेछ भन्ने सन्देश दिन विद्यालयबाट उनीहरूलाई निकालिएको हो ।’

विद्यार्थीबीच कलिलै उमेरमा हुने विवाहलाई निरुत्साहित गर्न आचारसंहिता पनि बनाइएको विद्यालयले जनाएको छ । यद्यपि आचारसंहिता बन्नुअगावै आफूहरूलाई कारबाही गरिनु दुःखद भएको नवविवाहित जोडीले साप्ताहिकलाई बताए । ‘ हामी निर्णय सुनेर स्तब्ध छौं,’ सन्तवीरले भने- ‘विगतमा यस्तै थियो, हामीले पनि गर्‍यौं, अब हामीले पढ्न पाउनुपर्छ ।’ उनले आफूले विद्यालयप्रति नकारात्मक धारणा राखेर विवाह नगरेको बताए ।
स्थानीय बासिन्दा सन्तवीर र मोरङको रमितेडाँडाकी १६ वषर्ीया बबिताबीच विवाह भएपछि अभिभावकहरूले यस्तो कार्य रोक्न विद्यालयसँग अनुरोध गरेका थिए । दुवैलाई आगामी एक वर्षसम्म उक्त विद्यालयमा अध्ययन गर्न प्रतिबन्ध लगाइएको छ । विद्यालयबाटै निष्कासन गरिनेसम्मको निर्णय भए पनि जिल्ला शिक्षा कार्यालयमा भने त्यसको कुनै जानकारी गराइएको छैन । कुनै पनि विद्यालय तथा व्यवस्थापन समितिको महत्त्वपूर्ण निर्णय शिक्षा कार्यालयमा जानकारी गराइने व्यवस्था रहेको स्रोतले जनाएको छ । विवाहलाई नै आधार बनाई निष्कासन गरिन नहुने जिल्ला शिक्षा अधिकारी झुमप्रसाद राईले बताए । ‘निष्कासन अन्तिम विकल्प भएकाले यसअघि कारबाहीका अन्य चरण पूरा हुनुपथ्र्यो,’ राईले भने- ‘यस विषयमा विद्यालयसँग जानकारी मागिनेछ ।’
गत वर्ष बज्रमाई माध्यमिक विद्यालय, बोधेमा पनि कक्षा ८ मा अध्ययनरत सोही गाविसका विष्णु बस्नेत र मोरङकी पुष्पा कार्कीले प्रेमविवाह गरेका थिए । उनीहरू हाल सोही विद्यालयमा अध्ययनरत छन् । हाल उनीहरू दुवै कक्षा ९ मा छन् । केही वर्षदेखि यहाँ विद्यालय जीवनमै प्रेमविवाह गर्ने होड चलेको छ । माथि उल्लेखित उदाहरण दुई प्रतिनिधि घटना मात्र हुन् । धनकुटाको एउटा विद्यालयमा आधा दर्जनभन्दा बढी विवाहित जोडीले अध्ययन गरिरहेको समचारले गत वर्ष निकै तरङ्ग फैलाएको थियो । जिल्लाको महाकाली निमाविमा विद्यालयमा ८ जोडी विवाहित विद्यार्थी भएको घटनाले सञ्चारमाध्यमहरूमा निकै महत्त्व पाएको थियो ।

Comments :

0 comments to “विद्यालय जीवनमै प्रेम विवाह गर्ने बढे”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger