Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

तीजका गीतमा पनि कृषिका सन्देश


।२१ भाद्र, घुर्कोट(गुल्मी) । ‘खेती गरे यही भूमिमा सक्छौ पैसा छाप्नलाई


बरीलै नजाउ अव विदेशमा हात थाप्नलाई……’
पुर्कोटदह गाविसको हरियाली देउराली महिला कृषक समूहले गाएको यो तीजगीत मात्र होइन, आजभोलि गुल्मी जिल्लामा आधुनिक कृषि प्रणाली, कम्पोष्ट मल, व्यावसायिक कृषि र विदेश जान छोडेर कृषि पेशा अगाल्नुपर्ने सन्देश बोकेका गीतहरु गुञ्जिन थालेका छन्


विगतका तीजमा माया, प्रेम, सासूको बुहार्तन, माइतीको सम्झना र चेलीले दुःख पाएका बेदनाका पोका मात्र पोख्ने गुल्मेली महिलाले अहिले आएर आधुनिक खेतीप्रणाली र विदेश जान छाडेर आफ्नै माटोमा पसिना बगाउने आव्हानसहित जनचेतनामूलक गीत गाउन थाल्नुलाई महिला वर्गमा आएको चेतनाको लहर र समाज परिवर्तनको ज्वलन्त उदाहरण मान्न सकिन्छ ।



‘किन जान्छौ नेपाली विदेशको खाडीमा


बरीलै सुन जस्तै अन्न फल्छ हाम्रै बारीमा ……..’


जिल्लाको चौरासी बजारमा नेटा गाविसका महिलाले यसरी तीजको गीतमार्फत पुरुषलाईर् विदेश नजान आह्वान गरिरहँदा विदेश जान तयारी गरेका पुरुषहरु पनि विचार परिवर्तन गरी विदेश नजाने सल्लाह गर्न थालेका छन् । आत्मनिर्भर कृषक सिर्जनशील महिला कृषक समूहको यो गीत र नाचमा हजारौंले उत्साहपूर्वक साथ दिए ।
चौरासी बजारमा मात्र होइन गुल्मेली महिला तथा किसानहरुलाई कृषि सम्बन्धी जनचेतना जगाउन जिल्ला कृषि विकास कार्यालयले जिल्लामै पहिलोपटक आयोजना गरेको कृषि तीज गीत प्रतियोगितामा जिल्लाभरि नै महिलाहरुले यस्तै आह्वान गरे । तीजगीतमार्फत महिलाले गरेको आह्वानबाट प्रभावित भई कति दाजुभाइले विदेश जाने मनसाय त्यागे भने कतिले अन्य काम छोडेर कृषि पेशामा नै लाग्ने योजना बनाएको धुर्कोट बस्तुका कृषक भीमकान्त पन्थीले बताउनुभयो ।
“सँधै काम गरिरहेको तर कसैले ख्याल नगरेको गोवर, सोत्तर, घाँसपात र खेतबारीका कुरा गरिएका गीतले पुरस्कार पाउँदा त निकै खुसी लाग्यो । सधंैजसो महिलाले आफ्ना मात्र विलौना गाउन छोडेर हाम्रा पनि कुरा गरेपछि रमाईलो पनि लाग्यो । यो पेशा राम्रो रहेछ भन्ने पनि लाग्यो ।” उहाँले खुशी हुँदै भन्नुभयो ।
गीतमार्फत जिल्लाका अधिकाँश स्थानमा महिलाहरुले विदेश जान छोडेर कृषि पेशामा लाग्न पुरुषलाई आह्वान गरे भने कतिले आफूले गरिरहेको कृषि पेशाबाट राम्रो लाभ लिन नसकेकोले आधुनिक कृषि प्रणली अनुसार काम गरेमा प्रसस्तै फाइदा हुने र व्यावसायिक खेती गरेर आय आर्जन गर्न समेत तीजगीत मार्फत सबैलाई चेतना दिए ।


‘ग्रामीण आर्थिक आधार हाम्रो कृषि नै हो बुझौँ है

व्यावसायिक कृषि पेशा सवले रोजौं है
आधुनिक भकारो त आधुनिक जैविकमल
कृषि र पर्यावरण सबै नै अशल
त्यसैले हो हामीले कृषि पेशा गर्ने गरेको …..
अमरपुर बहुउद्येश्यीय कृषक समूहको यो गीतमा नयाँ तरीकाबाट खेतीपाती गर्ने देखि लिएर गोठेमलको बढी प्रयोग र रासायानिक मलको बहिस्कारका कुराहरु समेत समावेश गरिएका गीति सन्देशले नयाँ विषयको जानकारी दिनुको साथै चेतना समेत दिएको बताउनु हुन्छ शिक्षिका राधा भण्डारी ।
‘गहुँ, मकै नफल्ने ठाउँ अदुवाले भरेर
स्वरोजगार बन्न सक्छौं कृषि गरेर
त्यसैले हो हामीले कृषि पेशा गर्ने गरेको …..’
माटो परीक्षण कसरी गर्ने देखि लिएर कुन माटोमा कस्तो खेती गरेमा फाईदा लिन सकिन्छ भन्ने सम्मका जानकारी दिएको यो गीत प्रस्तुत गरेर दरबार देविस्थान सेवा केन्द्रमा भएको प्रतियोगितामा जिल्ला सदरमुकामकै कालिका कृषि बहुउद्येश्यीय सहकारी संस्था प्रथम भएको थियो ।

अन्य संघसंस्थाको आयोजनामा भएका कार्यक्रमहरुमा भन्दा तीन गुणा बढी जनसहभागिता रहको सो कार्यक्रममा तीज गीत गाउनेहरुले दिएको सन्देशले सबैको ध्यान आकषिर्त गरेको स्थानीय शिक्षक हरि अर्यालले बताउनुभयो । “यो कृषि तीज गीतमा पनि उही माया प्रेमका कुरा त होला नि भन्ने सबैको सोचाई थियो तर नाच हेरेर रमाइलो गर्न आएका सबैले कसरी आधुनिक खेती गर्ने भन्ने सन्देश लिएर फर्के” उहाँले भन्नुभयो ।
नेपालीहरुको जीवन निर्वाहको मूख्य आधार नै कृषि पेशा भएपनि वर्तमान समयमा कृषि पेशा निर्वाहमुखी मात्र भएकोले व्यावसायीकरण गर्न सन्देश दिन पाउँदा निकै खुसी लागेको कालिका कृषि बहुउद्येश्यीय सहकारी संस्थाका सदस्य तथा प्रतियोगी सरस्वती आचार्यले बताउनुभयो ।
गाउँले जनताको बाँच्ने पहिलो आधार नै कृषि भएपनि राज्य र अन्य क्षेत्रबाट प्रभावकारी रुपमा यसलाई ध्यान नदिएकोले आफूहरुले गीतमार्फत आफ्ना समस्या र चेतनाका कुरा गर्न पाउँदा निकै खुसी लागेको चौरासी सेवा केन्द्रमा भएको प्रतियोगितामा द्वितीय पुरस्कार विजेता लालीगुराँस बहुउेश्यीय कृषक समूहका सदस्य सावित्रा खड्काले बताउनुभयो ।
“देशका ८० प्रतिसत जनता कृषिमा नै निर्भर रहेको भनेपनि राज्यले त्यसअनुरुप प्राथमिकता दिएको छैन । झन् गाउँमा त सबै बजेट बाटो खन्न मात्रै प्रयोग गरेका छन् त्यसैले कृषकका समस्याहरु पनि गीतमार्फत राख्न पाईयो ।” – उहाँले भन्नुभयो । अन्य कार्यक्रमबाट भन्दा तीज गीतमार्फत जनचेतना जगाउनमा निकै प्रभावकारी काम भएको खैरेनी बजारका हेमलाल भण्डारीले बताउनुभयो ।
नेपालमै पहिलो पटक गुल्मी जिल्लामा कृषि सेवाकेन्द्र स्तरीय कृषि तीजगीत प्रतियोगीता आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । छवटा सेवाकेन्द्रमा आयोजित प्रतियोगितामा अपेक्षा गरेभन्दा बढी जनसहभागिता रहेको र यसले एकैपटक जिल्लाभरी कृषिसम्बन्धि तरङ्ग नै उत्पन्न गरेको वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले बताउनुभयो ।
उहाँले प्रतियोगितामा सहभागीले एकातिर अरुलाई नयाँ सन्देश दिएको र अर्कोतर्फ प्रतियोगी समूहले नै गीतले भने झैं आफूले व्यवहार गरिएको छ छैन आफैलाई मूल्याङ्कन गरेर व्यवहार परिवर्तन गर्न पनि सहयोग पुगेको बताउनुभयो ।
जिल्लाभरका गरी ११२ कृषक समूहले प्रतियोगितामा भाग लिएका थिए भने हजारैां जनताले कार्यक्रमको अवलोकन गरेका थिए । गीति समूहहरु नयाँ नयाँ गीत रचना गर्नका लागि गाउँले किसानका दुःख, समस्या र आवश्यकता सोध्नमा व्यस्त रहेकाले पनि गुल्मी जिल्लाका गाउँगाउँमा अहिले कृषि चेतनाको नयाँ लहर नै चलेको छ । रासस

Comments :

0 comments to “तीजका गीतमा पनि कृषिका सन्देश”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger