Browse » Home » » ए रेखा ! भो अब नदेखा
ए रेखा ! भो अब नदेखा
निर्देशक श्याम भट्टराईको नजरमा नायिका रेखा
खुसी परे साउनको झरी हुने, बेखुसीमा साउन नै लुकी बस्ने कहिलेकाँही भेल भई उर्लिदिने, पागलजस्तै डुली हिँड्ने बादल हौ तिमी बादल हौ …
लाहुरे फिल्मको यो गीतका भाव कसरी नायिका रेखा थापाको स्वभाव बनेर घरिघरी उर्लिरहन्छ, यसको चर्चा म एकछिनमा गर्नेछु । त्यसभन्दा अघि अहिलेकी यी चर्चित नायिकाको अन्य अन्तरंग यात्रामा लैजाने अनुमति चाहन्छु म ।
रेखा पहिलोपटक हिरो फिल्ममा डेब्यु गर्दा त्यसवेलाकी स्टार नायिका निरुता सिंह गुन्युचोली लगाएर नेपाली नारीको प्रतिनिधित्व गर्दै थिइन् । निरुताले लगाएको गुन्यु अलिकति मात्रै माथि तन्किँदा सिटी फुकेर हलै थर्काउने दर्शक यतिखेर नतमस्तक भएर रेखाको पछि लागे जतिखेर रेखाले निसंकोच ह्वात्तै आफ्नो तिघ्रा देखाइदिइन् । यदाकदा झुक्किएर देखिने निरुताको पिडुला मात्रै हेर्नुभन्दा सोझै देखिने रेखाका तिघ्रा नै दर्शकलाई प्यारो लाग्न थाल्यो । अनि फिल्मको भाषामा बोलिएजस्तै बिस्तारै निरुताको गुन्युचोली फेज आउट हुँदै गयो भने रेखाको नयाँ अन्दाज फेज इन हुँदै आउन थाल्यो । एक दशकपछि निरुता अचेल यही अन्दाजमा देखिन थाल्नुले रेखा रजतपट कि स्टार नायिका हुन् भन्ने पुष्टि गर्छ । रेखा आज स्टार नायिका मात्रै होइनन्, स्टार अभिनेत्रीका रूपमा स्थापित छन् भन्दा पनि फरक पर्दैन । किनभने अहिले चलेका स्टार हिरोहरू बराबरकै डिमान्ड र लोकपि्रयता आज रेखाको पनि भएको कुरा फिल्म-बुज्रुकबाट नै सुनिन्छ ।
रेखा यसरी यो इमेजमा स्थापित हुनुको पछाडि निखिल उपे्रती भन्ने नायकको ठूलै गुण छ भन्ने लाग्छ मलाई । यदि यो रहस्यदेखि कोही अनभिज्ञ हुनुहुन्छ भने म बुझाउने अनुमति चाहन्छु ।
एकताका फिल्म क्षेत्रमा निखिल उप्रेतीको खुब चर्चा भयो । बलिउड नगरीमा दिनेश नामले फाट्टफुट्ट स्टन्टको काम गर्दै गरेका ती व्यक्तिलाई कलाकार पवन मैनालीले पिँजडा फिल्मबाट निखिल बनाइदिए । निखिलको प्रवेशपछि केही वर्ष नेपाली फिल्म निर्माणको धार पनि अलग्गियो । एक्सनको एउटा छुट्टै प्रस्तुति दिएर डेब्यु गरेका निखिलको जादुले झन्डै एक दशक समग्र फिल्म उद्योगलाई यही धारमा अघि बढ्न बाध्य बनायो । यही समयमा रेखा पनि आफूलाई स्थापित गराउने दौडमा थिइन् । तर, दुर्भाग्य त्यो जादुको छडीसँग सामान्य विवाद के भएको थियो, निखिलले एउटा उर्दी नै लगाए- म अबदेखि त्यो देखा थापासँग फिल्म खेल्दिनँ ।
निखिलको त्यो उर्दीपछि केही समय रेखाको करिअरमा झन्डै शून्यता नै छायो भन्दा पनि हुन्छ किनभने त्यो वेला बन्ने गरेका झन्डै ९० प्रतिशत फिल्ममा निखिल नै नायक हुन्थे । निखिलको ठूलो मोल लाग्ने टाउको रुँघ्ने निर्माता निर्देशकले रेखाको पछि लाग्ने हिम्मत गरेनन् । उनीहरूको दृष्टिकोणबाट हेर्दा त्यो कुरा त्यतिवेला स्वाभाविक थियो होला सायद ।
निखिलको त्यो उर्दीले त्यसवेला रेखालाई मात्र हैन रेखाका पति निर्माता छवि ओझालाई पनि ठूलै झट्का लागेको थियो । कारण हिम्मत फिल्ममा छविले उनै निखिललाई नायकका रूपमा अनुबन्धित गरेका थिए । तर, रेखासँग फिल्म नखेल्ने घोषणा गरेका निखिल हिम्मत खेल्न आउने त कुरै थिएन । चार आनाको हिसाब पनि नबिर्सने छविले निखिलबाट डबल पैसा असुलेर भए पनि उनको झट्काको ठूलै जवाफ दिएका थिए ।
उद्योगमा छुट्टै पहिचान बनाएका निर्माता छविलाई निखिलबाट डबल पैसा असुलेर मात्रै चैनको निद्रा मिलेको थिएन । अब उनमा पनि निखिलप्रति ठूलो इगो जन्मिसकेको थियो भने रेखाप्रति जिम्मेवारी । रेखालाई जस्तै निखिलको उर्दी लागेर टोलाएका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीको कान छवि ओझाले एकपटक फुकेका मात्रै के थिए, अब त्यही हिम्मत फिल्ममा रेखाको उपस्थिति निखिललाई चुनौती दिने मात्रै होइन माथै गर्ने खालको हुने निश्चित भयो । नभन्दै रेखा फिल्मस्को ब्यानरमा बनेको हिम्मतमा रेखाले त्यही-त्यही गरेर देखाइन्, जेजे गरेर निखिल फिल्म क्षेत्रमा स्थापित भएका थिए । रेखा यसरी हिरोझैँ प्रस्तुत हुँदै छिन् भन्ने समाचार त्यो वेला निकै रमाइलो गसिफ बनेको थियो । त्यस्तै एउटा गसिफ म यहाँ उल्लेख गर्न चाहन्छु । कुनै समय निर्माता छविसँग नङ र मासुको सम्बन्ध भएर पनि पछि अलग्गिन पुगेका अथवा भनौँ रेखाले नै डेब्यु गरेको फिल्म हिरोका निर्देशक नरेश पौडेलले एक दिन सुनेछन्- हिम्मत फिल्मका लागि आज रेखा थापाले भोटेकोसीमा बन्जीजम्प गरी रे । त्यसको प्रतिक्रियास्वरूप नरेशले धेरैलाई टेलिफोन गरेर भनेछन्- सुन्यौ तिमीहरूले ? रेखाले आज भोटेकोसीमा बन्जीजम्प गरिछे, आज त्यसको खुट्टामा डोरी थियो । हिम्मत रिलिज भएको पहिलो दिन नै छवि गएर त्यही भोटेकोसीमा बन्जीजम्प गर्छ तर त्यो दिन छविको खुट्टामा डोरी हुँदैन, हा हा हा… ।
पौडेलको आशय के थियो त्यो उनै जानून् तर हिम्मत समूहको त्यो प्रयास भने सतप्रतिशत सफल भयो । नेपाली फिल्मकै इतिहासमा एउटी नारीले यति ठूलो साहसिक कार्य गरेर सबैलाई आश्चर्यमा पार्ने काम मात्रै गरिनन्, सधैँ रोनाधोना, सासु-नन्द अत्याचार, आम प्रमुख पात्र नायकको वरिपरि नाच्ने वेलामा मात्रै प्रवेश पाउने नारी चरित्रले अवसर पाए भने आफूलाई यसरी पनि प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिन् रेखाले ।
हिम्मत फिल्मले पाएको सफलतासँगै रेखा रातारात स्टार भइन् । उनलाई एकपछि अर्को राम्रो ब्यानरका फिल्मबाट अफर आउन थाले । हिम्मतकै सफलताबाट रेखाका पति छविले पनि थप हिम्मत बटुले । कुनै वेला अजम्बरी नाता फिल्म बनाउँदा निरुतालाई लिड रोल गराएर केही दृश्यमा मात्रै रेखालाई सीमित राखेका छविले त्यसपछिका आफ्ना सबै फिल्ममा रेखालाई नै प्रमुख भूमिका दिए, ती सबै फिल्म सफल पनि भए ।
पछिल्ला धेरै फिल्ममा शीर्षक रोल गरी आफूलाई अब्बल नायिकाको पंक्तिमा राख्न सफल रेखाको प्रतिभा आजका दिनसम्म आइपुग्दा बहुआयामिक भइसकेको छ । रेखाको नाइटो र तिघ्रातिर मात्रै दौडिने दर्शकका आँखाले रेखाको साहसिक चरित्र र भावुक अभिनयलाई पनि अझ सहर्ष नै स्विकारेर भन्न थालेका छन्,- ए रेखा ! भो अब नदेखा ।
राजेश हमालको बिकेको टाउकोसँगै जोडिएर आएकी रेखाको टाउको पनि भारी दाममा बिक्न थालेको आज धेरै समय भैसक्यो । यति मात्र होइन, रेखाको बिकेको टाउकोसँगै झुन्डिन आएका अन्य टाउकाले समेत आज आफ्नो टाउको भारी दाममा बिकाउन थालिसकेका छन् । एकदशक अगाडि मोरङको सलकपुरमै हुँदा फिल्मको रंगीन दुनियाँमा एकदिन म नम्बर एक हिरोइन बन्छु भनेर आफ्ना साथीभाइलाई गफ हाँक्ने रेखाको सपना आजको दिनसम्म आइपुग्दा साँच्चै नै साकार भएको छ । आज सलकपुरले मात्र होइन, अधिराज्यभरका लाखौं नेपाली रेखाको विषयमा जानकार छन् । अझ माओवादी आन्दोलनताका माओवादी अध्यक्ष प्रचण्डसँग ‘कि लाऊ माया मैतिर कि लाऊ उहीतिर, निरा नलाऊ दुई तिर’ भन्दै छमछमी कम्मर मर्काएपछि त उनी फिल्म क्षेत्रमा मात्रै होइन, देश-विदेशमा समेत परिचित भइन् ।
यति भएर पनि रेखाको करिअरको यो एक दशकको लामो यात्रामा उनी विवादरहित हुन भने सकेकी छैनन् । सुरुमा उल्लेख गरिएको गीतको हरफ रेखाको स्वभाव बनेर वेलावेलामा उर्लिदिनाले उनी कहिलेकाहीँ उल्झनमा पनि परिरहन्छिन् । सम्बन्ध गाँस्न सजिलो छ । त्यसलाई तोड्न अझ सजिलो हुन्छ । तर, मुस्किल छ त त्यसलाई निभाउन भनेजस्तै रेखाको सबभन्दा ठूलो कमजोरी भनेकै सम्बन्धलाई निभाउन नसक्नु नै हो भन्ने मलाई लाग्छ । चाहे सहकर्मी हुन् या त उनका साथीभाइसँग उनी छिनमै औंसी त छिनमै पूणिर्माको रूपमा प्रस्तुत भइरहन्छिन् । रेखालाई खुसी हुन न कुनै कारण चाहिन्छ न दुःखी हुन नै । हुन त सृजनात्मक व्यक्ति प्रायशः मुडी हुन्छ भन्छन् । मुडीहरूले मुड चलेको वेलामा केके गर्छन्, त्यसको पत्तो हुँदैन । यस्तै मुडी स्वभावकी लाग्छिन्, रेखा पनि । को मान्छे कतिखेर चाहिन्छ भन्ने हेक्का नराख्ने रेखाले आफ्नो यो कमजोरीलाई पनि सच्याउन सकिन् भने अझै केही वर्ष उनको रंग यो रजतपटमा गाढा रहिरहनेछ भन्ने विश्वास गर्न सकिन्छ । अन्ततः कुशल अभिनेत्रीसँगै अब्बल निर्मात्रीको समेत छवि बनाएकी रेखाले बुझ्नुपर्ने गाँठी कुरा के हो भने उनलाई आफ्नो आदर्श बनाई घरपरिवारसँग विद्रोह गरिरहेका धेरै जुनियर रेखाहरू अवसरको खोजीमा काठमाडौंमा भांैतारिरहेका छन् । खाली म नवप्रवेशी कलाकारकी आमा हुँ मात्र भनेर हुँदैन, आमाले पुरुषलाई मात्र होइन, नारीलाई पनि जन्माउँछिन् भन्ने यथार्थलाई निर्मात्री रेखाले बुझ्नुपर्छ ।
आज रेखाको जन्म दिन, उनका समस्त दर्शक, पाठक, शुभेच्छुक र सहकर्मीसँगै म उनको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । – नयाँ पत्रिकाबाट
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ए रेखा ! भो अब नदेखा”
Post a Comment