Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

माओवादी दाहाल अन्तरजातीय विवाह विच्छेद हुँदा दु:खी

- गंगा बीसी
  (२०६७ भाद्र ७, सोमवार)

काठमाडौं, भाद्र ७ - माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित एउटा विवाह समारोहमा अध्यक्ष पुष्पकमल दाहाल खुसीभन्दा बढी दुःखी देखिन्थे । खुसीको कारण अन्तरजातीय दुई लडाकु प्रणय सूत्रमा बाँधिँदै थिए । दुःखी हुनुको कारण थियो युद्धकालमा भएका अन्तरजातीय विवाहको बढ्दो विच्छेदक्रम ।



सशस्त्र युद्धका बेला माओवादी नेता, कार्यकर्ता र लडाकुले अन्तरजातीय विवाह गरेका थिए । शान्ति प्रक्रियामा आइसकेपछि त्यस्ता दम्पती जातीय कारण देखाउँदै छुट्टनि थालेको जानकारी पाएपछि दाहालले निकै दुःख व्यक्त गरे । 'जनयुद्धका बेला सांस्कृतिक क्रान्तिकै एउटा रूपमा भएका जनवादी अन्तरजातीय विवाह शान्ति प्रक्रियामा आएपछि विच्छेद भएको जानकारी आएको छ,' माओवादी सेनाका लडाकु डिभिजन कमान्डर यमबहादुर अधिकारी र लडाकु तारा कुमालबीचको विवाहमा आइतबार सरिक दाहालले भावुक शैलीमा भने, 'यो दुःखद कुरा हो । यसले मलाई दुःखी बनाएको छ ।' शान्ति प्रक्रियामा आइसकेपछि माओवादी कार्यकर्तामै जातीय विभेद पुनः सुरु भएकाले अन्तरजातीय विवाह विच्छेद भएको जानकारी आफूले पाएको दाहालले बताए ।
माओवादीमा मन मिलेरमात्र बैवाहिक सम्बन्ध दिगो हुँदैन, राजनीतिक विचार पनि मिल्नुपर्छ । दम्पतीबीच राजनीतिक विचार नमिलेको दिन सम्बन्ध विच्छेद गर्ने प्रचलन माओवादीमा रहँदै आएको छ । आइतबार विवाह समारोहमा अधिकारी र कुमालले पार्टीको नीतिभन्दा एक जना बाहिर गए स्वतः सम्बन्ध विच्छेद हुने बताए । 'पार्टीले दिएको जिम्मेवारी पूरा गर्नबाट दायाँबायाँ गर्‍यौं भने हाम्रो सम्बन्ध स्वतः विच्छेद हुनेछ,' अधिकारीले प्रतिबद्धता व्यक्त गरे, 'हामी पार्टी र सहिदले देखाएको बाटोबाट दायाँबायाँ गर्ने छैनौं ।'
दुवैको यो दोस्रो वैवाहिक जीवन हो । कार्यक्रममा 'सहिद' श्रीमती पाण्डेलाई स्मरण गर्दै अधिकारी भक्कानिए । मञ्चमा अधिकारीका पहिलेका ससुरा तथा नयाँ ससुरा र सासू उपस्थित थिए । बधू कुमालले विवाह व्यक्तिगत सम्बन्धका साथै क्रान्तिको पक्षमा लगाउने बताइन् । 'यो विवाहले भावनात्मक सम्बन्ध बढाएको छ भने क्रान्तिका लागि पनि साधन बन्नेछ,' उनले भनिन् ।
अधिकारीकी श्रीमती सरस्वती पाण्डेको २०६१ सालमा चितवनको दाहखानीमा सेनासँगको भिडन्तमा मृत्यु भएको थियो भने कुमालका श्रीमान् केशव शाही अहिलेसम्म पनि बेपत्ता छन् । दुवैले माओवादी सेनाको मुख्यालयमा विवाहका लागि निवेदन दिएकामा आइतबार स्वीकृत गरेको डेपुटी कमान्डर चन्द्रप्रकाश खनालले जानकारी दिए ।
समारोहमा खनालले २०५१ सालमा गरेको आफ्नो अन्तरजातीय विवाह श्रीमतीसँग विचार नमिलेर विच्छेद भएर पुनः मिलेको सम्झे । अध्यक्ष दाहालले बरबधूलाई शुभकामना दिँदै देश, जनता, पार्टी र क्रान्तिका लागि विवाह उपयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा उपाध्यक्षद्वय मोहन वैद्य, नारायणकाजी श्रेष्ठ, महासचिब रामबहादुर थापा, सचिवद्वय सीपी गजुरेल, स्थायी, पोलिटब्युरो सदस्यहरू, लडाकु कमान्डरहरूका साथै कार्यकर्ताको उपस्थिति थियो । समारोहमा केहीबेर नाचगान पनि चलेको थियो ।

Comments :

0 comments to “माओवादी दाहाल अन्तरजातीय विवाह विच्छेद हुँदा दु:खी”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger