Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

जब देश सँगै मन दुख्छ...

मन रुँदैन बिनासित्ती, रुवाइन्छ
घर भत्किदा नरुने त्यो मन

सायद कुलंघार हो

देश दुख्दा नदुख्ने त्यो मन

सायद देश द्रोही हो


घर भत्किदैन त्यसै, भत्काइन्छ


देश दुख्दैन आफैं, दुखाइन्छ



मन नमिठो गरि दुखेपछि

चित्त बेस्कन फाटेपछी

मुटुमा भक्कानो फुटेपछि

आँशुले आइतबार बार्दैन

बगाउँछ कोशी, गण्डकी ,कर्णाली

र दन्दनी बल्छन

आँखामा आक्रोशका फिलिंगाहरु


देश सँगै मन दुख्नुको पीडा

र मन सँगै देश रुनुको व्यथा

कठै, निरिह मेरो देशले भोगिरहेछ

मल्साप्रे हातहरु परेर

गिद्दे आँखाहरु लागेर

बाँदरहरुको राज्य खेपिरहेछ

देश त कमिलाको पनि हुन्छ

कमिलाहरु देश भत्काउदैनन्

देश त चराहरुको पनि हुन्छ

चराहरु आफ्नो देश जोगाउन

विषम घाम-पानी, आँधी-हुरी सहन्छन

देश त माहुरीको पनि हुन्छ

श्रम र सिर्जना, एकता र निर्माण

माहुरीहरुको कर्म हो, धर्म हो

उफ....सरम लाग्दो सत्य



मेरो उल्टो नियती

मेरो वृहस्पती स्वाभिमान

मेरो लाचार मन

मेरो हुटिट्याउ तन

देश दुखेपछि मन दुख्छ

र मन जस्तै देश दुखेको बेला

उत्साहमा-जाँगरमा

मौलाउनु पर्ने मन

निराशामा-उदासिनतामा

बाध्यात्मक बौलाएको बेला

आउनु पर्दैन मेरो सम्मुख

बोतल मात्र फेरिएका रक्सीको भाँती

रंग फेरिएका छेपाराहरु

आफ्नै घर बालेर

खरानी ताप्न रमाउने पाखण्डीहरु

नयाँ र पुरानोको सौदाबाजीमा

समृद्दको भाषा नजान्ने दलालहरु

वहुलट्ठीहरु - दम्भीहरु

भो, अब धेरै नौटंकी नगरे हुन्छ

कसलाई थाहा छैन,

जुन रंग-जातको भए पनि

दुध चोर्नु र मुसाको शिकार गर्नु शिवाय

बिरालोको काम



सिरेटोका नांगा आङहरुबीच

सर्वपहुंच बन्न नसकेको

गुन्द्रुक ढिडोको यथार्थमाझ

दिग्भ्रमित

आश्वासनका कनिके भाषणहरु

अर्थहीन

आदर्शका बोक्रे दस्तावेजहरु

निकम्मा

सिद्दान्तका कटमेरा मेनुफेस्टोहरु

वकवास,........सिर्फ वकवास



रहरहरु पिंजडामा थुनिएको बेला

मनहरु जिजिविषा हराएर बरालिएको बेला

के अधिकारको दुहाइ गर्जिनु

एकलकाटे सिंहले जंगलबाट

के स्वतन्त्रताको नारा डुक्रिनु

रैथाने साँढेले सडकबाट

भयो, देखिसकियो

विकृतिको अर्को नाम - परिवर्तन

विसंगतिको दोश्रो नाम - विकाश

लुछाचुंडी, भागबन्डाका निरन्तर शृंखलाहरु



आधुनिकताको होडमा

गुन्यू चोलीले

सर्वाङ्ग धर्म छाड्नुको पराकाष्ठा

दौरा सुरुवालले

फेद टुप्पै गती छाड्नुको चरमसिमा

हो, यहि बेला

संस्कृति दुख्छ

र सँगै देश दुख्छ

र सँगै मन दुख्छ

रंग फेरिनुमा मात्र सिमित

विकाशका महान सिद्दान्तहरु

स्वार्थमा डाइभर्ट

परिवर्तनका चिन्तनहरू

भ्रान्ती मात्र बनेका

कन्फ्यूज क्रान्तीहरु

लज्जास्पद !



आँगन खनेर भंडार पुर्ने पौरखीहरु

गाई मारेर गधा पोस्ने नैतिकवानहरु

माटो बेचेर स्वाभिमान बाँच्ने इमान्दारहरु

हास्यास्पद !

कालापानीमा देश दुखेको बेला

सुस्तामा भूमि बलात्कृत भएको बेला

तारे होटलका सम्भ्रान्त सेमिनारहरु

सहमतिका कपटी बैठकहरु

राष्ट्रियता दुख्यो, देश सँगै

झण्डा दुख्यो, देश सँगै

स्वतन्त्रता दुख्यो, देश सँगै

संस्कृति दुख्यो, देश सँगै

जीवन दुख्यो, देश सँगै

वाण नै वाण को शैय्यामा

भिष्म छट्पटाए जस्तै

पीडै-पिडामा, व्यथे-व्यथामा

सर्वांग देश दुखेपछि

मन दुख्यो देश सँगै ।

गणेश खड्का " प्रतिक्षा '

भिक्टोरिया ( सेसेल्स )

E-mail : ganeshkhadka2033@yahoo.com

matribhoomi-rangamanch@yahoo.com

Comments :

0 comments to “जब देश सँगै मन दुख्छ...”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger