Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दाहाल र पौडेल पाँचौ पटक पनि प्रधानमन्त्री बन्न सकेनन् (प्रत्यक्ष जानकारी)


                                                      कान्तिपुर संवाददाता
भाद्र ७ - प्रधानमन्त्री चयनका लागि आज पाँचौ पटक भएको निर्वाचनमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले बहुमत ल्याउन सकेनन् ।


कुनै एक उम्मेदवारले बहुमत प्राप्त नगरेसम्म मतदानको प्रक्रिया दोहोरिँदै जाने संसद् नियमावलीको व्यवस्थाअनुसार सोमबार पाँचौ पटक पनि दाहाल र पौडेलबीच प्रतिस्पर्धा भएको हो । सोमबारको निर्वाचनमा पनि एमाले, मधेसवादी चार दल, नेकपा माले, नेकपा संयुक्त लगायतका दलहरु तटस्थ बसेका छन् ।

निर्वाचनबारे प्रत्यक्ष जानकारी (ताजा जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्)

- आजको निर्वाचनमा पनि दुवै नेता पराजित भएपछि अर्को निर्वाचन कहिले गर्नेभन्ने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्स समितिको बैठक बस्दैछ । बैठकले अर्को निर्वाचनको मिति तय गर्ने छ । त्यसका लागि आधा घण्टाका लागि बैठक स्थगित भएको छ ।

- पौडेलले पनि स्पष्ट बहुमत (३०१) पुर्‍याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।
- कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल आज पाँचौ पटक पनि पराजित भएका छन् । उनको पक्षमा १२४ मत परेको थियो । यस्तै पौडेलको विपक्षमा २४३ र तटस्थमा २०० मत परेको छ । मतदान प्रक्रियामा ५६७ सभासद सहभागी भएका थिए ।
- सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो मत सच्याउन चाहने सभासदहरुका लागि तीन मिनेटको समय प्रदान गरेका छन् । सच्याउन चाहने सभासदहरुले ड्यासमा गएर मत सच्याउन सक्ने नेम्वाङले जानकारी दिएका छन् ।
- मतदान सकिएपछि मतगणना सुरु भएको छ । संसदका कर्मचारीहरुले अहिले मतगणना गरिरहेका छन् ।
- मतदान सकेर सभासदहरु फर्किनेक्रम सुरु भएको छ ।
- पौडेलको प्रस्तावका सम्बन्धमा मत विभाजन सुरु भएको छ । कांग्रेस सभासदहरु पक्षमा मतदान गर्न गएका छन् भने माओवादी, एकीकृतलगायतका सभासद विपक्षमा मतदान गर्न गएका छन् । एमाले, मधेसवादीसहित साना दलका सभासदहरुले तटस्थमा मतदान गरेका छन् ।
- संविधानसभा बैठक बाहिर रहेका सभासदहरुलाई भित्र प्रवेश गर्नका लागि पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।
- कांग्रेसका रामचन्द्र पौडेलका प्रस्तावक शेरबहादुर देउवाले पौडेललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।

- दाहालले स्पष्ट बहुमत (३०१) पुर्‍याउन नसकेपछि उनको प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका छन् ।
- माओवादी उम्मेदवार पुष्पकमल दाहाल आज पाँचौ पटक पनि पराजित भएका छन् । उनको पक्षमा २४६ मत परेको थियो । यस्तै दाहालको विपक्षमा १११ र तटस्थमा २०६ मत परेको छ । मतदान प्रक्रियामा ५६३ सभासद सहभागी भएका थिए ।

- मतदानका बेला बन्द गरेका प्रवेशद्वारा खोल्न सभामुखले आदेश दिएका छन् ।
- सभामुख सुवासचन्द्र नेम्वाङले आफ्नो मत सच्याउन चाहने सभासदहरुका लागि तीन मिनेटको समय प्रदान गरेका छन् । सच्याउन चाहने सभासदहरुले ड्यासमा गएर मत सच्याउन सक्ने नेम्वाङले जानकारी दिएका छन् ।
- मतदान सकिएपछि मतगणना सुरु भएको छ । संसदका कर्मचारीहरुले अहिले मतगणना गरिरहेका छन् ।
- मतदान सकेर सभासदहरु फर्किनेक्रम सुरु भएको छ ।
- तटस्थमा मतदान गर्ने सभासदहरु छुट्टै स्थानमा गएका छन् । यस्तै प्रस्तावको पक्षमा मतदान गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु आफूलाई छुट्याएको स्थानमा गएका छन् । विपक्षमा मतदान गर्न कांग्रेसका सभासदहरु छुट्टै स्थानमा गएका छन् ।

- माओवादीका पुष्पकमल दाहालका प्रस्तावक बाबुराम भट्टराईले दाहाललाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई पुनः निर्णायार्थ पेस गरिएको छ ।

- संविधानसभा बैठकभित्र प्रवेश गर्ने सवै ढोकाहरुलाई बन्द गर्न सभामुखको निर्देशन ।
- संविधानसभा बाहिर रहेका सभासदहलाई बैठकमा प्रवेश गर्नका लागि सूचना दिन पाँच मिनेटसम्म घण्टी बजाइएको छ ।

- विभाजन घण्टा बज्न सुरु भएको थियो, यो ५ मिनेटसम्म बजिह्यो ।

- सभामुख सुवासचन्द्र नेम्वाङले निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

- प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद् बैठक सुरु भएको छ । बैठक सुरु भएको जनाउ घण्टी बज्न सुरु भएको छ ।

- यसअघि प्रधानमन्त्री चयनका लागि बसेको व्यवस्थापिका संसदको बैठक समयमै सुरु भएपछि आज भने अधिकांश सभासद्हरु बैठकस्थलमा पुगेका छन् । चौथो चरणको निर्वाचनमा सभासद्हरु ढिला आउँदा धेरै मतदान दिनबाट बञ्चित भएका थिए ।

- प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल संविधानसभा बैठकस्थलमा आइपुगेका छन् । यस्तै एमाले अध्यक्ष झलनाथ खनालसहित २७ वटै दलका शीर्ष नेता तथा सभासद्हरु संविधानसभामा उपस्थित छन् । तर, प्रधानमन्त्री माधवकुमार नेपाल भने बैठकस्थलमा आइपुगका छैनन् ।

- जनजाति महासंघको धर्नामा राखिएको व्यङ्गात्मक कुर्सीमा 'कुर्सीको खेल अन्त्य गर, समयमा संविधान जारी गर' भनी लेखिएको छ । जनजाति महासंघले हस्ताक्षरसहितका व्यानर पनि राखेको छ ।
- नेपाल आदिवासी जनजाति महासंघले संविधानसभा भवन अगाडि ६ फिट लामो बाँसमा घुम्ने कुर्सी राखेर दलहरुप्रति व्यङ्ग्य गरेको छ ।
- संविधानसभा भवन अगाडि अधिकारकर्मी तथा दलका कार्यकर्ताहरु उभिएपछि नयाँ बानेश्वर क्षेत्रमा सडक जाम भएको छ ।
- संविधानसभा भवन अगाडि अधिकारकर्मी पद्मरत्न तुलाधारलगायत धर्नामा छन् । लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका कार्यकर्ताहरु पनि दबाबका लागि संविधानसभा भवन अगाडि उभिएका छन् ।
- लगातार भएका निर्वाचनमा पनि दलहरु प्रधानमन्त्री चयन गर्न असक्षम भएको भन्दै दबाबका लागि संविधानसभा बाहिर विभिन्न दल तथा अधिकारकर्मीहरु धर्नामा छन् ।
- चार पटकसम्म भएको निर्वाचनमा पनि प्रधानमन्त्री चयन हुन नसकेपछि आज पुनः चुनाव हुँदैछ । निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल मैदानमा छन् ।

Comments :

0 comments to “दाहाल र पौडेल पाँचौ पटक पनि प्रधानमन्त्री बन्न सकेनन् (प्रत्यक्ष जानकारी)”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger