Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

प्रेम विवाह गर्ने थलो बन्यो विद्यालय



महाकाली निमाविका आठ जोडी छात्रछात्राले महिनाभित्रै विवाह गरे
रमेशचन्द्र अधिकारी
धनकुटा, भाद्र १२ - शिक्षा आर्जन गर्ने थलो हो, विद्यालय । तर यहाँका केही विद्यालय किशोरकिशोरीको प्रेम विवाह गर्ने स्थलझैं बन्दै गएको छ । पछिल्लोपटक यस्तै विवाह गर्ने एक जोडी निष्कासनमा परेका छन् ।


अध्ययनरत अवस्थामै विवाह गरी 'विसंगति' फैलाएको भन्दै विद्यालय प्रशासनले ती जोडीलाई निष्कासित गरेको हो । छ नम्बर बुधबारे गाविसस्थित शारदा उच्च माविको १० कक्षामा अध्ययनरत सन्तवीर तामाङ र ८ कक्षाकी बबिता तामाङले गत साता प्रेम विवाह गरेका थिए । विद्यालयस्तरमा छात्रछात्राबीच विवाह गरिनुले अन्य विद्यार्थीलाई नराम्रो प्रभाव पर्ने भएकाले दुवैलाई निष्कासन गरिएको प्राचार्य विश्वनाथ दाहालले बताए ।
विद्यालयस्तरमा एकापसमा विवाह गरिएको यो पहिलो घटना भने होइन । यहाँ हालसम्म दर्जनौंले एकापसमा विवाह गर्दै आएकाले पुरानै चलन रहेको स्थानीयहरू बताउँछन् । विद्यालय प्रशासन र व्यवस्थापन समितिको बैठकले बुधबार दुवै जोडीलाई विद्यालयबाट निष्कासन गर्ने निर्णय गर्‍यो । 'यस्तै परम्परा बस्यो भने पढाइभन्दा विकृति बढ्न सक्छ,' प्राचार्य दाहालले भने, 'आगामी दिनमा यस्तो कार्य गर्ने सबैलाई यस्तै कारबाही हुनेछ ।'
यसरी एकापसमा विद्यार्थीबीच विवाह गर्नेलाई निष्कासन गर्ने आचारसंहिता बनाइएको विद्यालयले जनायो । तर आचारसंहिता बनिनुअगावै आफूहरूलाई कारबाही गरिनु दुःखद रहेको नवविवाहित जोडीले प्रतिक्रिया दिए । 'हामी निर्णय सुनेर स्तब्ध बनेका छौं,' सन्तवीरले भने, 'विगतमा यस्तै थियो, हामीले पनि गर्‍यौं, पढ्न पाउनुपर्छ ।' उनले आफूले विद्यालयप्रति नराम्रो सोचेर विवाह नगरेको बताए ।
स्थानीय सन्तवीर र मोरङको रमितेडाँडाकी १६ वषर्ीया बबिताबीच विवाह भएपछि अभिभावकहरूले यस्तो कार्य रोक्न पहल गर्दै विद्यालयमा अनुरोध गरेका थिए । दुवैलाई आगामी एक वर्षसम्म अध्ययन गर्न प्रतिबन्ध गरिएको छ । तर उनीहरू मात्रै उक्त विद्यालयका त्यस्ता जोडी भने होइनन् । विगतमा पनि एकापसमा विवाह गरिँदै आएको स्थानीयले बताए ।
विद्यालयबाटै निष्कासन गरिनेसम्मको निर्णय भए पनि शिक्षा कार्यालयमा भने कुनै जानकारी गराइएको छैन । कुनै पनि विद्यालय तथा व्यवस्थापन समितिको महत्त्वपूर्ण बैठकको निर्णय शिक्षा कार्यालयमा जानकारी गराइने व्यवस्था रहेको स्रोतले बतायो । विवाहलाई नै आधार बनाई निष्कासन गरिन नहुने शिक्षा अधिकारी झुमप्रसाद राईले बताए । 'निष्कासन अन्तिम विकल्प भएकाले यसअघि अन्य कारबाहीको चरण हुनुपथ्र्यो,' उनले भने, 'यसबारे विद्यालयसँग जानकारी मागिनेछ ।'
जिल्लाको ग्रामीण क्षेत्रका अधिकांश विद्यालयका विद्यार्थीहरू अध्ययनरत अवस्थामा नै विवाह बन्धनमा बाँधिने र पढाइ अधुरो छाड्ने चलन नौलो मानिन्न । परेवादिन गाविस- ९ स्थित महाकाली निमाविका आठ जोडी छात्रछात्राले केही वर्षअघि महिना दिनभित्रै एकापसमा विवाह गरिसकेको घटनाले पनि चर्चा भने पाएको थियो । जिल्ला सदरमुकामबाट करिब पाँच कोसको दूरीमा रहेको उक्त विद्यालयका चारदेखि आठ कक्षासम्म अध्ययन गर्ने छात्रछात्राबीच विवाह भएको प्रधानाध्यापक वासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार अधिकांशको विवाह चौधदेखि बीस वर्षको उमेरमा भएको छ ।
यस्ता कार्यको नियन्त्रणको नियन्त्रण गरिन आवश्यक रहेकोमा भने अभिभावक, विद्यार्थी, शिक्षक तथा सम्बन्ध पक्षले जोड दिँदै आएका छन् । क्रमशः यसको न्यूनीकरण हुनु जरुरी रहेको जिशिअ राईले बताए । कतिपय परम्पराले पनि यस कार्यलाई सघाउ पुर्‍याएको उनको भनाइ छ । तर विद्यालयको वातावरण धमिलो पार्ने कार्यको अन्त्य गर्न जनचेतनामूलक अभियान गरिने उनले बताए ।

Comments :

0 comments to “प्रेम विवाह गर्ने थलो बन्यो विद्यालय”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger