Browse » Home » » आज भानु जयन्ती, भानुको घरको ख्याल गर्ने कोहि भएन
आज भानु जयन्ती, भानुको घरको ख्याल गर्ने कोहि भएन
हाम्रो संखुवासभा समाचारदाता
दमौली, असार २९ । भानु गाविस-३, चँदीरम्घामा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मघर अहिले खण्डहरमा परिणत भएको छ। माटो र ढुङ्गाले बनेको त्यो घरको गाह्रो चारैतिर भत्केर भग्नावशेषमात्र बाँकी छ। घरभित्रै काँडासहितका बिरुवा हुर्केका छन्। आदिकवि आचार्यको जन्मक्षेत्र यतिखेर स्याल कराउने झाडीजस्तै बन्न थालेको छ।
आज असार २९ गते भानुको १९७औँ जन्मजयन्ती देश-विदेशमा भव्यरूपले मनाउँदै गर्दा उनको जन्मघरको संरक्षण गर्ने ख्याल भने कसैलाई छैन।
भानुभक्तको जन्म विसं. १८७१ असार २९ गते तनहुँको चुँदीबेसीको रम्घा गाउँमा भएको हो। घना सालघारीको जङ्गलको बीचमा रहेको आदिकविको जन्मघर संरक्षणमा कसैले चासो देखाएका छैनन्।
भानुको नाममा रहेको एकमात्र चिनो, उहाँको घर २०६१ सालमा आगलागीका परेपछि अहिलेसम्म त्यसको मर्मत हुन सकेको छैन। जङ्गलबीचको खरको छानोको उक्त घरमा २०६१ साल जेठमा आगलागी भएको थियो।
जन्मस्थल विकास समितिका अध्यक्ष श्रीभक्त आचार्य काठमाडौँका आर. के. शाक्य भन्ने व्यक्तिले त्यसको जीर्णोद्धार गरिदिन्छु भनेर आश्वासन दिए पनि काम नगरेकाले घरको दुर्दशा देख्नुपरेको बताउँछन्। मर्मत गर्ने आश्वासन दिएर समितिका तर्फबाट सम्मान पाएर चर्चामा आएका शाक्य अहिले बेखबर छन्।
भानुगृहको संरक्षणमा चासो नदेखाउँदा भवन निर्माणका क्रममा प्रयोग गरिएका सामग्री बेवारिसे अवस्थामा रहेको र कतिपय महत्वपूर्ण सामान हराएको भानुभक्तका पनाति मुक्तिनाथ आचार्यले बताए।
प्राचीन वास्तुशैली र ढाँचामा निर्माण गरिएको सो भवन हाल अवशेषका रूपमा रहेको छ। प्रत्येक वर्ष सरकारले दिँदै आएको अनुदान रकम कटौती र सरकार परिवर्तनसँगै समिति परिवर्तन गरिने परिपाटीले गर्दा पनि संरक्षण एवम् सम्वर्द्धनमा कठिनाइ भएको विकास समितिका कार्यकारी निर्देशक दाहालको भनाइ छ।
विकास समितिका अनुसार बजेट रकम कम हुँदा भानुगृह संरक्षणमा कठिनाइ भएको छ। भानुभक्तको घर नेपालीको भाषिक र सांस्कृतिक सम्पदा हो, यसको संरक्षण गर्ने मुख्य दायित्व सरकारको हो। साथै स्थानीय समुदायले पनि तत्परता देखाउनुपर्छ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “आज भानु जयन्ती, भानुको घरको ख्याल गर्ने कोहि भएन”
Post a Comment