Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज असार १५ अझै भएन रोपाइँ

अषाढ १५ - असार १५ लाग्यो । खेतमा असारे गीत घन्किन पाएन । पानी नपरेकाले धेरैतिर रोपाइँ हुन सकेको छैन । खेत बाँझै भएकाले कृषकमा उत्साह छैन । धानका बेर्ना ब्याडमै सुक्न थालेको छ भने बारीका मकैको बोट मर्न थालेका छन् ।

खण्डवृष्टिका कारण केही लेकाली क्षेत्रमा मात्रै पानी परेको छ । अन्यत्रका कृषकहरू आकाश हेरेरै दिन बिताउन बाध्य छन् । 'रोपाइँ गर्न खेतालाको जोहो गरियो, पानी नपरेपछि मेलामा उभ्याएरै दिन गयो,' नारायणस्थान- ५, चनौटे ओखलढुंगाका कृषक सुरेशप्रसाद दाहालले भने ।
'सप्पै जमिन बाँझो छ,' सात रोपनी खेतमा धानको खेती गर्दै आएकी रुकुम, कोटजहारीकी पुनम केसीले भनिन्, 'अब हामी त भोकभोकै मर्ने भयौं ।' समयमा पानी नपर्दा अन्न भण्डारका रूपमा चिनिएको पश्चिम तराईमा धान खेती प्रभावित भएको छ । पहाडी जिल्लामा किसानले लगाएको मकैबाली सुकेको छ । रोपाइँका बेलामा भर्खर मात्र किसानले धानको ब्याड राख्न सुरु गरेका छन् ।

दुई-तीन दिनयता हल्का वर्षा भएपछि आकाशे पानीका भरमा रोपाइँ गर्ने किसानलाई थोरै राहत पुगेको छ । तर पर्याप्त मात्रामा पानी नपर्दा खेती बिग्रने चिन्ता पनि उत्तिकै छ ।

कान्तिपुर पोखरा ब्युरोका अनुसार पर्याप्त वर्षा नभएका कारण आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रका खेतबारी बाँझो बन्न पुगेका छन् । पानी परेपनि मूल फुट्ने गरी मुसलधारे वषर्ा नहुँदा सिँचाइ अभावले धान रोपाइँ हुन नसकेको हो ।
यसअघि असारको दोस्रो सातासम्म आधा रोपाइँ भइसक्ने कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, बागलुङ, पर्वत, म्याग्दी, तनहुँ, गोर्खालगायतका जिल्लाका पहाडी क्षेत्रमा आधा प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । नहरबाट सिँचाइ हुने र खोला नदीनजिकै रहेका खेतबारीमा भने रोपाइँ भइरहेको छ ।
कास्कीको अधिकांश पहाडी क्षेत्रमा पानी अभावमा खेत र टारीमा रोपाइँ हुन सकेको छैन । कतिपय खेतटारीमा वर्षाको भेल छोपेर रोपाइँ गरिएको कृषकले बताएका छन् ।
नेपालगन्ज ब्युरोका अनुसार बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा सोमबार हल्का वर्षा भएको छ । वर्षापछि किसान खेतबारीमा देखिन थालेका छन् । तर सिँचाइ सुविधा नभएका मध्यपश्चिमका अधिकांश पहाडी जिल्लामा भने लामो खडेरीले खेत बाँझै छन् भने मकै खेती प्रभावित भएको छ । पहाडी जिल्लाको मुख्य बाली नै मकै हो ।
समयमा पानी नपरेकाले मकै बाली बिग्रन थालेको किसानले बताए । दाङमा सिँचाइ हुने देउखुरी क्षेत्रका केही किसानले रोपाइँ गर्न थाले पनि अधिकांश किसानले भर्खर ब्याड राख्न थालेका छन् । पर्याप्त पानी नपर्दा ब्याडमा पनि समस्या भएको किसानको गुनासो छ ।
बाँकेमा पनि सुख्खाले गर्दा रोपाइँ गरिएको छैन । बर्दियामा ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तर समयमा पानी नपरेकाले सिँचाइ सुविधा भएको राजापुर क्षेत्रमा गरेर २४ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ गरिएको कृषि कार्यालयले जनाएको छ । अन्य क्षेत्रमा रोपाइँ हुन सकेको छैन । ढिलो गरी सुरु भएको मनसुनको प्रभाव यस क्षेत्रमा अझै पर्न सकेको छैन ।
पानी नपर्दा सुर्खेत उपत्यकामा रोपाइँ सुरु नै गरिएको छैन । झन्डै २६ हजार हेक्टरमध्ये जम्मा ५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको कृषि कार्यालयले जनाएको छ । पानीका मूल भएका सिमक्षेत्रका किसानले मात्र फाटफुट रूपमा रोपाइँ गरेको कृषि कार्यालयका एक कर्मचारीले बताए ।
रुकुमको चौरजहारी तथा कोटजहारी गाविसका किसानले धानको बीउ राख्न नै पाएका छैनन् । वैशाखको दोस्रो साता राख्नुपर्ने धानको ब्याड राख्न नपाएपछि किसान मर्कामा परेका छन् । लामो समयसम्म खडेरी परेपछि जिल्लाको दोस्रो धान उत्पादनको क्षेत्र मानिने चौरजहारीमा किसानले धानको ब्याड राख्न नपाएका हुन् ।
चौरजहारीको स्यालखोला, टाटागाउँ, रुकुमेगाउँ, लापुलेगाउँ तथा कोटजहारीमा बीउ नराखको किसान बताउँछन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार चौरजहारी र कोटजहारीमा चार सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । स्थानीय हेमप्रसाद लामिछानेले धानको ब्याड राख्न नपाएपछि भोकमरीको त्रास छाएको बताए ।
जाजरकोटका किसानले पनि रोपाइँ गर्न पाएका छैनन् । खडेरीले मकै खेती सुक्न थालेको छ । एक/दुई दिनयता हल्का पानी पर्न थालेपछि आशा जागेको किसानले बताए ।
सुदूरपश्चिम ब्युरोका अनुसार सुदूरका वर्षा अभावमा पहाडी जिल्लामा रोपाइँ हुन सकेको छैन । गत सातादेखि फाटफुट पानी परे पनि रोपाइँलाई पुगेको छैन ।
बाजुरामा असार दोस्रो सातासम्म ४० प्रतिशत मात्र रोपाइँ भएको कृषि विकास कार्यालयले जनाएको छ । कृषि विकास अधिकृत विष्णुराज पण्डितका अनुसार रोपाइँलाई पुग्ने पानी नपरेकाले भर्खरै मात्र रोपाइँ सुरु भएको छ । 'ढिलो पानी परेका कारण धान उत्पादनमा ह्रास आउने निश्चित छ,' उनले भने । पानी ढिलो परेपछि किसानसमेत चिन्तित छन् । 'पोहोर यतिबेला रोपाइँ सकिएको थियो यो वर्ष बल्ल सुरु भयो,' कुलदेवमाडौं- ६ का जयबहादुर कटुवालले भने ।
डोटीमा पनि रोपाइँ सुरु भएको भए पनि अधिकांश पाखो क्षेत्रमा पानी अभावमा रोपाइँ हुन सकेको छैन । 'असारे १५ आइसक्यो यतिबेला जताततै हिलाम्मे हुनुपर्ने हो, पानी नै परेन रोपाइँ गर्न पाएका छैनौं,' दिपायल- ५ कुमालीकोटका किसान हिक्मत कठायतले भने । उनका अनुसार पानी नपरेकै कारण डोटीका किसानले रोपाइँ गर्न नपाई पोखे धानको बीउ छर्न थालेका छन् ।

वनलेक-७ बाँडुरी सैनका सन्तोष बलायर ठूलो क्षेत्रको रोपाइँ यसै सातामात्र सुरु भएको बताउँछन् । सुदूरपश्चिम क्षेत्रमा अघिल्लो सातादेखि पानी पर्न थालेको हो । लामो खडेरीका कारण समयमै मकै छर्नसमेत नपाएका किसान धान रोपाइँसमेत ढिलो भएको बताउँछन् । डडेलधुरामा पनि बल्ल ५० प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

Comments :

0 comments to “आज असार १५ अझै भएन रोपाइँ”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger