Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज कागको पूजा गरी सुरु भयो दीपावली

 हिन्दूको महान् चाड दीपावली आजदेखि कागको पूजा गरी सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन काग, दोस्रो दिन कुकुर र साँझ लक्ष्मीको पूजा तथा दीपावली, तेस्रो दिन बिहान गाई, गोरु चौथो दिन गोबर्द्धन पूजा र भाइटीका गरी सम्पन्न हुन्छ ।
बत्तीको झिलिमिली र उज्यालो, मिठाइ र फलफूलको सेवन, फूलहरूको ढकमक, दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, नेपालको मौलिक संवत् नेपाल संवत्को प्रारम्भ, आत्मपूजा, पक्षी र जनावरहरूको पूजा तिहारको विशेषताका रूपमा रहेको छ ।
पुराण अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
हाम्रो समाजमा कागलाई सन्देशवाहकका रूपमा पनि लिइन्छ । कसैको घरआँगनमा एकाबिहान काग कराएमा त्यस घरमा पाहुना आउने विश्वास गरिन्छ ।
काग तिहारका अवसरमा आज धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूतका रूपमा पूजा गरी विविध खानेकुरा दिने चलन छ ।

यो दिन कागको पूजा नगरी खाएमा पापको भागी बनिन्छ भन्ने विश्वास छ ।यही कात्तिक १९ गते कुकुर तिहार र साँझ लक्ष्मीपूजा तथा दीपावली गरिन्छ । कुकुरलाई यमराजको दरबारको रक्षक र दूतका रूपमा पूजा गरिन्छ । सो दिन आ-आफ्नो घरमा पालिएको कुकुरलाई टीका, माला लगाई मीठो खानेकुरा दिने प्रचलन छ ।
लक्ष्मीपूजा र गाईपूजाको दिन केटाकेटी तथा महिलाले घरघरमा गई खेलिने भैलोले यस पर्वलाई अझ उल्लासमय बनाउँछ ।
यमपञ्चकको अन्तिम दिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।
वैदिक कालमा बलि राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यस पर्वसँग जोडिएको छ ।
नेपाली भाषामा ‘स्वन्ती नखः’ भनिने यमपञ्चकका बेला यमराजको सम्मानमा आ-आफ्नो घर सफासुग्घर राखी, पारस्परिक द्वेषभाव हटाई दीपावलीका साथ पूजाआजा गर्नाले त्यस घरमा मानिसको अकाल मृत्यु नहुने धार्मिक ग्रन्थमा उल्लेख छ ।
लक्ष्मीपूजादेखि भाइटीकासम्म सबैतिर सफा राखी दैलो-सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भर्‍याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ ।यमपञ्चकको चौथो दिन नेवार सम्प्रदायमा म्हः पूजा (आत्मपूजा) गर्ने प्रचलन छ ।

Comments :

0 comments to “आज कागको पूजा गरी सुरु भयो दीपावली”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger