आश्विन ३१ - मोबाइलमा अहिले रिङटोनभन्दा एसएमएस टोन खुबै बज्ने गरेको छ । दसैं आउनुभन्दा साताअघिदेखि धेरै नेपालीको मोबाइलमा सुरु भएको यो क्रम फूलपातीसम्म आइपुग्दा भ्याईनभ्याई छ । दसैं नसकुन्जेल यो जारी रहने गर्छ । हुन त एसएमएस पठाउने यो परम्परा नौलो भने होइन । चाडबाड र शुभ अवसरहरूमा कविता शैलीमा प्रेषित गरिने एसएमएसहरूले मनोरञ्जन मात्रै दिँदैन आफन्तजनमा आत्मीयतासमेत बढाउने गरेको मोबाइलका सौखिनहरू बताउँछन् ।प्रियजन र शुभचिन्तकहरूलाई विभिन्न भाषामा प्रेषित गरिने मोबाइल सन्देशहरूको आफ्नै मौलिकता छ । कसैले नेपालीमा त कसैले हिन्दी त कसैले अंग्रेजीमा प्रेषित गर्ने सन्देशहरू आफन्तजनसँगको पुराना दिनहरूलाई तरोताजा मात्रै बनाउँदैन, स्नेह र प्रेमसमेत सञ्चार गरिरहेको बताउँछिन् काठमाडौंकी कमलादेवी तुलाधर । उनी भन्छिन्, 'मोबाइल सेवा सञ्चालकहरूले समेत दसैं, तिहारलगायतका शुभ अवसरमा प्रदान गर्ने आकर्षक छुटले आफन्तजनलाई सन्देश प्रेषित गर्न थप हौसाउने गरेको छ ।' त्यस्तै एक युवा व्यापारी रजिन गिरीले चाडबाडमा पठाइने मोबाइल सन्देशले टाढाको मित्रलाई नजिक बनाएको
बताउँछन् । कतारबाट एउटा साथीले उनलाई हिन्दी भाषामा पठाएको सन्देश 'ना खत से, ना मेल से, ना फोन से, ना मोबाइल से, ना एसएमएस से, आपको 'ह्यापी विजयादशमी' डाइरेक्ट दिल से... बाट उनी आफूलाई अत्यन्तै रोमाञ्चक महसुस भएको बताउँछन् । सनराइज बैंकमा कार्यरत ईश्वर पाठकलाई इलामका साथी हरिप्रसाद ढकालले प्रेषित गरेको सन्देश पनि हार्दिकताले भरिएको छ । 'गणेशको सिद्धि, लक्ष्मीको धन, भगवतीको शक्ति, चाणक्यको बुद्धि, विदुरको नीति, विष्णुको कृति, सूर्यको जस्तो प्रताप होस्, ह्यापी दशमी एन्ड द फेस्टिभल अफ फ्लावर्स तिहार
२०६७ ...' ले आफूमा उमंग ल्याइदिएको उनले बताए । यस सन्देशमा एकै पटक धेरै कुरा समेटिएका छन् । यी त भए साथीले साथीलाई पठाएका केही सन्देशहरू । विद्यार्थीले गुरुलाई समेत यस्ता सन्देशहरू पठाउने गर्छन् । ती सन्देशहरू रोचक मात्रै हुँदैन कहिलेकाहीँ अनर्थ लाग्ने खालका पनि हुन्छन् ।
काठमाडौंबाट एसएलसी गरेर बुटबल पुगेकी एक छात्राले राजधानीमा आफ्ना गुरुलाई पठाएको हिन्दी सन्देशमा खुसियालीको कामनासँगै शुभकामना व्यक्त गरिएको छ । 'रब खुसी दे आपको, फूल खुस्बु दे आपको, सुरज किरण दे आपको, हम कुछ दे ना सके आपको पर विजयादशमी सबकुछ दे आपको 'ह्यापी दसैं...' सन्देशले शिक्षक-विद्यार्थीलाई पक्कै पनि जोड्ने काम गरेको छ ।
प्रेषित गरिने यस्ता सन्देशहरूमा मुलुकमा शान्ति, समृद्धि र नयाँ संविधान निर्माणको विषयहरू पनि समेटिएका छन् । कति सन्देशहरूमा संविधानसभाका सभासदहरूलाई संविधान बनाउने सुबृद्धि प्राप्त होस् भनेर दुर्गा भवानीसँग प्रार्थनासमेत गरिएका छन् । विद्यार्थी नेता सुरेशकुमार मण्डलले गोरखापत्रका पत्रकार सुरेश यादवलाई पठाएको सन्देशमा भनिएको छ, 'मुलुकमा शान्ति, समृद्धि र सहमतीय सरकार एवं सबै सरकारी निकायमा समावेशिक सहभागिता र सर्वमान्य संविधानको कामसहित शुभकामना छ ।' त्यस्तै एक मन्त्रीका स्वकीय सचिवले तिनै पत्रकारलाई प्रेषित गरेको सन्देशमा पनि मुलुकमा स्वतन्त्रता, शान्ति र समावेशीकरणका लागि प्रार्थना गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Comments :
0 comments to “दसैंमा थरिथरिका एसएमएस”
Post a Comment