Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

'आँगन टेढो देख्ने मान्छे फिल्ममा पनि छन्'

नेपाली जनजीवनका प्रचलित उखानहरू फिल्म क्षेत्रमा पनि सान्दर्भिक देख्छिन् अभिनेत्री नन्दिता केसी। निजी जीवन र कलाकारिता जगतको अनुभवका आधारमा उनले उल्लेखित १० उखानको व्याख्या यसरी गरिन्।

  १. घोडा चढे लडिन्छ

दुःख नगरी सफल हुन सम्भव छैन। कुनै पनि काम नसिकीकन गर्न खोज्दा आफैलाई नोक्सान हुनसक्छ। घोडालाई साँच्चिकै कुदाउनु छ भने त्यसले दिने दुःख खप्ने क्षमता पनि हुनुपर्छ।

२. नजाने गाउँको बाटै नसोध्नू
आफूलाई थाहै नभएको विषयमा धेरै नै खारिएकोजस्तो ढोङ गरेर प्याच्च बोल्ने मान्छे मैले धेरै देखेकी छु। त्यस्तो मान्छेले आफूलाई नै लज्जाको पात्र बनाउँछ।

३. नाच्न जाँदैन आँगन टेढो
यो उखानले मान्छेमा हुने बेकारको घमण्डलाई व्यंग्य गर्छ। आफ्नै जिद्दीले सिप नभएको कुरामा हात हाल्छन्। असफल भएपछि चाहिँ यसो भयो उसो भयो भनेर पन्छिन्छन्। नेपाली फिल्ममा यस्ता मान्छेको कमी छैन।

४. जब राती बूढी ताती
जब काम बिग्रिन्छ, अनि बल्ल मानिसको दिमागमा घैटो लाग्छ। अनि हतार हतार काम गर्छन्। त्यस्तो काम बिग्रिने सम्भावना बढी हुन्छ। काम सुरू गरेदेखि नै ध्यान दिएमा हतार गर्नुपर्ने स्थिति आउँदैन।

५. मेरो गोरुको बाह्रै टक्का
मान्छे धेरै जिद्दी प्राणी हो। गोरूझैं एकोहोरो लागेपछि लाग्यो लाग्यो। कसैले भनेको सुन्दैन। बरू उल्टो रिसाएर पिटुला झैं गर्छन्। काम गर्दा यस्तो खालको मान्छे मैले धेरै सामना गरेकी छु।

६. खाने मुखलाई जुँगाले छेक्दैन
होस गरेर मिहेनतका साथ गरिएको कामलाई अरूले बिगार्न सक्दैन। बिगारिहाले पनि नोक्सान हुने सम्भावना कम हुन्छ। मानिसमा सिप छ भने गर्न खोजेको काम जसरी पनि पूरा हुन्छ।

७. हात्ती छिर्‍यो पुच्छर अड्कियो
कहिलेकाहीँ परिवारमै भाइबहिनीहरूले मेरो अगाडि चाहिँ काम गर्छन्। पछि म यताउता गएपछि बीचैमा छाडेर हिँड्छन्। उनीहरूलाई गर्न दिइएको काम पूरा हुन्छ भनेर विश्वास गर्नै गाह्रो हुन्छ। कि काम सुरु नै नगर्नू, बीचमै छाडिँदा बेकार हुन्छ।

८. मुखमा रामराम बगलीमा छुरा
हेर्दा भगवानप्रति आस्था राख्ने नै वास्तवमा मूर्ति चोरेर विदेशी डलरमा बेच्छन्। अरूलाई देखाउन बिहानै धर्मकर्म गर्छन्। अनि धेरै धन कमाउने बहानामा नकारात्मक काम गर्छन्। पछि पैसाकै भरमा नियम बनाउनेलाई पनि आफ्नो मुठीमा लिन्छन्।

९. घाँटी हेरी हाड निल्नू
दसैंतिहारको समयमा यो उखान बढी सान्दर्भिक हुन्छ। मानिसहरू समाजलाई देखाउनकै लागि कमाइभन्दा बढी पैसा सापट लिएर खर्च गर्छन्। पछि पैसा तिर्न नसकेर बदनाम हुन्छन्। त्यसैले आफूसँग जे छ त्यसैगरी जीवन चलाए मानिसले सुख पाउँछन्।

१०. हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको खस्रो पात
राम्रो र नराम्रो मान्छे सानोमै छुट्टिन्छ। मिहेनती र लगनशील मान्छेहरू सानैदेखि इमान्दार र सहयोगी हुन्छन्। सानैमा मोजमस्ती गरेर हिँड्ने मान्छे ठूलो भएपछि सफल हुन गाह्रो हुन्छ। असल मानिसले सानैदेखि दुःख गरेरसफल हुन सिक्छन्।

Comments :

0 comments to “'आँगन टेढो देख्ने मान्छे फिल्ममा पनि छन्'”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger