Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

आज पनि नयाँ प्रधानमन्त्री पाउने सम्भावना कम

नारायण न्यौपाने/विष्णु नेपाल, काठमाण्डौ

राजनीतिक दलहरूबीच कुनै चमत्कारिक सहमति भएन भने आज पनि मुलुकले नयाँ प्रधानमन्त्री पाउन सक्ने सम्भावना क्षिण रहेको छ । व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गर्ने दलहरूका आ-आफ्ना अडानका कारण दुई महिनादेखि भइरहेको प्रधानमन्त्री चयनको प्रक्रिया समेत ओझेलमा परेको छ । प्रधानमन्त्री पदमा नेपाली काँग्रेसका तर्फबाट उपसभापति एवम् संसदीय दलका नेता रामचन्द्र पौडेल र एकीकृत नेकपा -माओवादी)का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रतिष्पर्धा हुँदै आएको छ ।


ती दुई पार्टीका शीर्ष नेताले व्यवस्थापिका-संसदमा आवश्यक मत -३००) पुर्‍याउन नसक्दा यसअघि पाँच पटकसम्म सम्पन्न निर्वाचनले प्रधानमन्त्री चयन गर्न नसकेको हो । निर्वाचनमा दुई तिहाई मत पुर्‍याउन नसकेको भन्दै नेकपा -एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनालले प्रधानमन्त्री पदको पहिलो चरणको निर्वाचनबाटै आफ्नो नाम फिर्ता लिनुभएको थियो ।
संविधानसभाको निर्वाचनमा पहिलो स्थान प्राप्त गरेको माओवादी र दोस्रो स्थान प्राप्त गरेको नेकाँका दुवै उम्मेदवारलाई तेस्रो ठूलो दल एमाले र मधेसकेन्द्रित दलहरू तटस्थ रहेपछि प्रधानमन्त्रीमा चुनिन हम्मे परेको छ । प्रधानमन्त्री माधवकुमार नेपालले गत असार १६ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । प्रधानमन्त्रीले राजीनामा दिएको दुई महिनासम्म नयाँ सरकार गठन हुन नसक्दा मुलुकको छविमा गम्भीर धक्का लागेको, बजेट आउन नसक्दा समग्र आर्थिक स्थितिमा नकारात्मक असर परेको र संविधान लेखन तथा शान्ति प्रक्रिया ओझेलमा परेको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।
प्रमुख दलहरूबीच सहमति हुन नसक्दा संसदभित्र सांसद खरिद बिक्रीको फोहोरी खेल दोहोरिने, दलहरूमा विभाजन हुने तथा राष्ट्रघाती एजेन्डामा सम्झौता गर्नेजस्ता विकृति समेत देखिन थालेका छन् । संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूबीचमा सहमतिका लागि पटक­पटक वार्ता, भेटघाट, सम्वाद भए पनि ती वार्ताहरू “हात्ती आयो हात्ती फुस्सा” जस्तै हुँदै आएको छ । खासगरी, ठूला पार्टीभित्रै सरकार गठनका सम्बन्धमा देखिएका फरकफरक र परस्पर विरोधी धारणाले अझ अन्यौल सिर्जना गरेको छ ।
प्रधानमन्त्री नेपालले राजीनामा दिएलगत्तै राष्ट्रपति डा. रामवरण यादवले दलहरूलाई सहमतिको राष्ट्रिय सरकार गठन गर्न आहृवान गर्नुभएको थियो । तर सहमतिको त्यस्तो सरकार बन्न नसकेपछि संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्री चयन गर्ने जिम्मेवारी संसदलाई दिनुभएको थियो । यसै सन्दर्भमा राससको जिज्ञासामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख तीन राजनीतिक दलको नालायकीपनका कारण नयाँ प्रधानमन्त्री चयन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखान छ तर यसबीचमा कुनै चमत्कार भएन भने आइतबार नै मुलुकले नयाँ प्रधानमन्त्री पाउन सक्ने सम्भावना छैन । मुलुकलाई अनिर्णयको बन्दी बनाउने कार्य राजनीतिक बेइमानी हो ।
नेपाली काँग्रेसका नेता आमोदप्रसाद उपाध्यायले आइतबार पनि प्रधानमन्त्री चयनसम्बन्धी कुरा टुङ्गिएला जस्तो छैन, एमालेको तटस्थतासम्बन्धी निर्णय फिर्ता नभइकन यस विषयले निष्कर्ष पाउने देखिदैंन भन्नुभयो । उहाँले भन्नुभयो- “मधेसवादी दलले तत्कालै आफ्नो अडान परिवर्तन गर्ने देखिएको छैन, यस कारणले आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना कम छ ।”

एनेकपा -माओवादी)का सचिव सीपी गजुरेलले मुलुकले आइतबार नै प्रधानमन्त्री पाउने कुनै निश्चित छैन, नेकपा एमालेको तटस्थता कायमै छ, मधेसकेन्द्रीत दलको निर्णय कस्तो आउँछ त्यसमा नै निर्भर गर्ने भएकाले अहिले नै भन्ने अवस्था छैन भन्नुभयो । नेकपा -एमाले) का नेता थममाया थापाले नेकपा -एमाले) को तटस्थ बस्ने निर्णय छ, अर्को निर्णय नभएसम्म मत हाल्ने कुरै छैन, त्यसकारण आइतबार नै प्रधानमन्त्रीको चयन हुन्छ भन्ने आफूलाई विश्वास छैन भन्नुभयो ।
एमालेका युवानेता विषमलाल अधिकारी दनुवार पनि बहुमतीय प्रक्रियाबाट बनेको सरकारले संविधान लेखन र शान्ति प्रक्रिया सकारात्मक निष्कर्षमा नपुग्ने बताउनुहुन्छ । नेपाल मजदूर किसान पार्टीका लीला न्याइच्याईले अहिलेको परिस्थितिलाई विश्लेषण गर्दा भोलि नै प्रधानमन्त्री चयनको सम्भावना अत्यन्तै क्षण रहेको बताउँदै मुलुक र जनताप्रति राजनीतिक दलहरू इमान्दार नहुँदा मुलुक लामो समयसम्म अनिर्णयको बन्दी बस्नु परेको प्रतिक्रिया दिनुभयो ।
सद्भावना पार्टीका सभासद् अनिल झाले दलहरूबीच अहिलेसम्म भएको वार्ता, छलफललाई विश्लेषण गर्दा आइतबार प्रधानमन्त्रीको चयन हुने सम्भावना नरहेको बताउनुभयो । नयाँ प्रधानमन्त्री चयनका लागि दुई तिहाइ मतको सुनिश्चिता नजनाएसम्म तटस्थ बस्ने एमालेको निर्णय, मधेसका मुद्दाको कार्यान्वयनका लागि लिखित प्रतिबद्धता नजनाएसम्म तटस्थ बस्ने मधेसवादी दलको निर्णयका कारण नयाँ प्रधानमन्त्री चयनका लागि अवरोध हुँदै आएको छ ।
सभामुख सुवास नेम्बाङले आज एक सार्वजानिक कार्यक्रममा सम्बोधन गर्दै आइतबार पनि नयाँ प्रधानमन्त्री चयन गर्न असफल हुने हो भने राजनीतिक दल एवम् सिङ्गो लोकतन्त्रमाथि नै खतरामा पर्नसक्ने चेतावनी दिनुभएको छ । यद्यपी एनेकपा -माओवादी)का अध्यक्ष ‘प्रचण्ड’ले छैठौं चरणको निर्वाचनले निश्चित परिणाम निकाल्ने दाबी गर्दै आउनुभएको छ ।

Comments :

0 comments to “आज पनि नयाँ प्रधानमन्त्री पाउने सम्भावना कम”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger