सङ्खुवासभा समाचारदाता
पूर्वराजा ज्ञानेन्द्र शाहले तीन महिनामा तेस्रो मन्दिरको दर्शन गर्ने भएका छन् । मन्दिर दर्शनका नाममा आफ्ना समर्थकलाई दर्शन दिन उनी बुधबार वीरगन्ज पुग्दै छन् ।
परोक्ष रूपमा आफूलाई राजनीतिमा सक्रिय देखाउन कस्सिएका ज्ञानेन्द्रले जनकपुर र नेपालगन्ज पुगेर जनमत बुझ्ने कोसिस गरेका थिए । यी दुवै सहरमा भव्य रूपमा स्वागत भएको भन्दै उनका समर्थकले वीरगन्जमा पनि त्योभन्दा धेरै सर्वसाधारणलाई जम्मा गर्ने तयारी गरिरहेका छन् ।
त्यसो त केही समयअघि पूर्वयुवराज पारस वीरगन्ज जाँदा उनका हिन्दू अतिवादी समर्थकले सिमरा विमानस्थल नै कब्जामा लिएका थिए । स्वागतमा निस्किएको जुलुसले विमानस्थलको संवेदनशील भिआइपी कक्षमात्र होइन, रनवेमै पुगेर पारसलाई स्वागत गरेको थियो ।
भ्रमणको प्रबन्ध मिलाउन पूर्वराजाका स्वकीय सचिव सागर तिमिल्सिना बुधबार वीरगन्ज पुगेर फर्किसकेका छन् । उनी सोमबार फेरि त्यसतर्फ जाँदै छन् ।
ज्ञानेन्द्रले वीरगन्जनजिकै बाराको सिमानामा पर्ने परवानीपुरमा निर्मित अष्टभुज वैष्णोदेवी दुर्गा मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ । भर्खरै निर्माण भएको मन्दिरमा पूजाआजा गरेरै उनले मन्दिर उद्घाटन गर्दै छन् ।
वैष्णोदवी मन्दिरको दुर्गापूजा समितिले ज्ञानेन्द्रलाई आमन्त्रण गरेको हो । समितिको अध्यक्षमा एमाले बाराका सचिवालय सदस्य अमर यादव छन् । उनले हिन्दू सम्राटको रूपमा पूर्वराजा ज्ञानेन्द्रलाई बोलाइएको बताए । वीरगन्जमा उनले एक रात बिताउने र आफ्ना भनाइ राख्ने कार्यक्रम छ ।
वीरगन्जमा पुगेपछि पूर्वराजा आफ्नो सानैदेखिका साथी प्रभुशमशेर राणाको पुख्र्यौली घरमा जाने भएका छन । त्यही घरमा उनले रात बिताउने कार्यक्रम छ । प्रभु पनि ज्ञानेन्द्रसँगै काठमाडौंबाट वीरगन्ज जाँदै छन् ।
उनीहरू बुधबार बिहान साढे आठ बजे बुद्ध एयरको नियमित उडानबाट वीरगन्ज जाने कार्यक्रम तय भएको छ । त्यहाँ उनले स्थानीय सञ्चारकर्मीहरूसँग राजनीतिक विचार राख्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
रामजानकी मन्दिरको दर्शन गर्न भन्दै जनकपुर र बागेश्वरीको दर्शन गर्न भन्दै नेपालगन्ज पुगेका ज्ञानेन्द्रले ती दुवै ठाउँमा राजनीतिक अभिव्यक्ति दिएका थिए । नेपालबाट राजतन्त्र गयो भन्नु 'हाइपोथेटिकल' हो भन्ने जनकपुरको अभिव्यक्ति विवादमा तानिएपछि उनले नेपालगन्ज पुगेर सफाइ दिँदै भनेका थिए, 'जनताको भनाइ यस्तो पनि छ है भनेर मैले भनेको हुँ ।' उनले लोडसेडिङको समस्या आफूले पनि खेपेको गुनासो गरेका थिए । अब वीरगन्ज पुगेर उनले के बोल्ने हुन् ? चासो बढेको छ ।
Subscribe to:
Post Comments (Atom)










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “ज्ञानेन्द्र अब वीरगन्जतिर”
Post a Comment