Chatbox

हाम्रो संखुवासभा हेडलाईनहरु :->

दाङमा बम राख्दै, चन्दा माग्दै

हाम्रो संखुवासभा समाचारदाता
अषाढ ७ - यहाँ दिनहुँजसो बम आतंक बढ्दै गएको छ । विभिन्न भूमिगत समूहले चन्दा असुली गर्न बम आतंकलाई प्रभावकारी माध्यम बनाएका छन् । चन्दा मागेर धम्कीपूर्ण पत्र पठाउने र मागेजति चन्दा नदिए घरमा बम विस्फोट गराएर आतंकित पार्ने गरिएको छ ।


यसबाट व्यवसायी र निजी विद्यालय प्रभावित भएका छन् । भूमिगत समूहले एक ठाउँमा राखेको बमलाई चेतावनीका रूपमा देखाएर अरूबाट भनेजति चन्दा असुल्ने गरेका छन् । 'एउटाको घरमा बम राखिदिन्छन् या विस्फोट गरिदिन्छन् अनि तेरो अवस्था पनि त्यही होला समयमै चन्दा दिइहाल भनेर निकै आतंकित पार्छन्,' तुलसीपुरका एक व्यवसायीले भने, 'रातदिन त्रास छ, कतिखेर के हुन्छ भन्न सकिँदैन ।'


मंसिरदेखि पत्र पठाउन सुरु गरेका त्यस्ता समूहले दुई महिनायता आफ्नो गतिविधिमा तीव्रता दिएका छन् । नेपाल माक्र्सवादी गणतान्त्रिक टाइगर्स समूह र नेकपा मालेमा समूह अहिले चन्दा असुली र बम विस्फोटमा सक्रिय रहेका छन् । यसअघि तुलसीपुर क्षेत्रमा मात्रै गतिविधि गर्दै आएका यी समूहले शनिबार घोराहीमा पनि बम राखेर सदरमुकामवासीलाई आतंकित पारे ।


घोराही नगरपालिका ११ शुक्रपथ टोलस्थित जनज्योति विद्या मन्दिरमा शनिबार बिहान प्रेसरकुकर बम फेला पर्‍यो । नेपाली सेनाको १९ नं. बाहिनी तुलसीपुरबाट क्याप्टेन नरबहादुर सुवेदीको नेतृत्वमा आएको बम डिस्पोजल टोलीले बम फेला परेको साढे ४ घन्टापछि नष्ट गरेको थियो । पहिले नै बम पडकएको भए ३ सय मिटरसम्म क्षति गर्न सक्ने क्षमता भएको डिस्पोजल टोलीले जनायो । बिहानै विद्यालयको मूल ढोकामा बम फेला परेपछि स्थानीय त्रसित छन् । बाहिरी पर्खाल पार गरी भित्री मूल ढोकाको नजिक प्रेसरकुकर बम राखी करिब ३० मिटर लामो तार जोडेर पर्खाल बाहिर ल्याइएको थियो ।


नेपाल माक्र्सवादी गणतान्त्रिक योङ टाइगर्स ग्रुपले तीन दिनअघि चन्दा माग गरी पत्र पठाएको विद्यालयका पि्रन्सिपल युवराज योगीले बताएका छन् । 'पहिले पत्रमार्फत चन्दा मागेका थिए । अहिले यस्तो भयो,' उनले भने, 'शिक्षा क्षेत्रमा पनि यस्तो खतरा हुन थाल्यो ।' अन्य धेरैजसो निजी विद्यालयहरूमा टाइगर्स समूहबाट चन्दा मागका पत्र आएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले जनाएको छ । 'अन्य १०/१२ वटा विद्यालयमा पनि पत्र अाएको छ,' अध्यक्ष केशव थापाले भने, 'यसले गर्दा सबैलाई त्रसित बनाएको छ ।'


विद्यालयजस्तो संवेदनशील शान्ति क्षेत्रमा बम राखेर बालबालिकालाई आतंकित पार्ने काम नगर्न उनले सम्बन्धित पक्षलाई आग्रह गरेका


छन् । 'यो निन्दनीय कार्य हो,' उनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शान्तिपूर्ण वातावरणमा शिक्षा पाउने बालबालिकाको अधिकार सुरक्षित हुनुपर्छ । यसका लागि प्रशासनलगायत जिम्मेवार निकायले गम्भीरताका साथ सोच्नुपर्छ ।'


यसअघि टाइगर्स समूहले चन्दा नदिएपछि तुलसीपुर ८ दुधेनास्थित केशरबहादुर शाहीको घरमा जेठ १५ गते बम विस्फोट गराएको थियो । जसका कारण शाहीको परिवार नै विस्थापित भइसकेको छ । यस्तै मालेमा समूहले वैशाख २६ गते घरमा बाल्टिन बम राखेर त्रसित बनाएपछि तुलसीपुर ५ का व्यापारी तिलक खड्का पनि विस्थापित भएका छन् ।

Comments :

0 comments to “दाङमा बम राख्दै, चन्दा माग्दै”

यो ब्लग साईट एती पटक हेरियो

नेपालीमा लेख्नुहोस् (रोमनबाट युनिकोड)

Archives

Blog Archive

 

Copyright © 2009 by हाम्रो संखुवासभा

Template by Blogger Templates | Powered by Blogger