पर्यटनमन्त्री शरतसिंह भण्डारीले युनाइटेड अरब इमिरेट्सको एयर अरेबियालाई काठमाडौं—क्वालालम्पुर उडान अनुमति दिएका छन् । एयर अरेबियालाई उडान अनुमति नदिन चौतर्फी विरोध भइरहेका वेला मन्त्री भण्डारीले गत आइतबार उडान अनुमति दिएका हुन् ।
काठमाडौं-क्वालालम्पुर खण्डमा निगमले प्रतिसाता ६ वटा उडान भर्ने अनुमति पाए पनि विमान अभावका कारण सातामा तीनवटा मात्र उडान भर्दै आएको छ । एयर अरबियालाई उडान अनुमति दिएपछि क्वालालम्पुर रुटमा रहेको निगमको एकाधिकार तोडिएको छ । विदेशी विमानसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकिरहेको निगम नयाँ हवाई कम्पनीको उडान अनुमतिपछि थप धराशयी हुने देखिएको छ ।
एयर अरेबियालाई उडान अनुमति दिएको विषयमा संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिमा बुधबार भएको छलफलमा पर्यटन सचिव किशोर थापाले अनुमति नदिन सबैतिरबाट दबाब दिइए पनि मन्त्रीले निर्णय गरेको बताए । 'सबैको दबाब आए पनि मन्त्रीले निर्णय गर्नुभयो,' उनले भने, 'क्वालालम्पुर क्षेत्रमा उडान भर्न अरू कम्पनीसँग प्रतिस्पर्धा गर्नु परेपछि विमान अभाव व्यहोरिरहेको निगमलाई थप घाटा हुनेछ ।' स्रोतका अनुसार, मन्त्री भण्डारी, सचिव थापा र कानुन महाशाखाका प्रमुख सहसचिव रञ्जन अर्यालले गत शनिबार अनुमति स्वीकृतिको कागज तयार पारेका थिए भने आइतबारको मिति राखेर अनुमतिपत्र दिइएको थियो ।
उडान अनुमति दिनुपूर्व मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण र निगमसँग राय मागेको थियो । प्राधिकरणले उडान तालिका स्वीकृत गर्न सकिने राय दिएको थियो भने निगमले स्वीकृत दिन नहुने राय दिएको थियो ।
'राष्ट्रिय ध्वजावाहकको हितलाई दृष्टिगत गरी निगम एक सबल र सक्षम वायुसेवाको रूपमा रूपान्तरण नभएसम्म विदेशी प्रतिस्पर्धी वायुसेवालाई कुनै पनि बिन्दु खासगरी निगमले सञ्चालन गरेका बिन्दुमा पाँचौँ स्वतन्त्रताको अधिकार स्वीकृत प्रदान गर्न मनासिब देखिँदैन,' निगमले दिएको रायमा उल्लेख छ । स्वदेशी ध्वजावाहकको असहमति भए पनि दीर्घकालीन दृष्टि र नीतिगत भन्दै मन्त्री भण्डारीले एयर अरबियालाई उडान अनुमति दिएका हुन् ।
मन्त्रालयले विमानस्थल सेवाबापत निगमलाई प्रतिउडान वाषिर्क ५ करोड ५० लाख रुपैयाँ, यात्रुसेवा शुल्कबापत ६ करोड ८० लाख
प्राधिकरणलाई र पर्यटन शुल्कबापत वाषिर्क १ करोड पर्यटन बोर्डले प्रत्यक्ष आम्दानी गर्ने दाबी गरेको छ । मन्त्रालयले एयर अरेबियालाई उडान अनुमति दिन लागेको भन्दै निगम कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरिसकेका छन् ।
कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले निगमले सेवा सञ्चालन गरिरहेको बिन्दुमा प्रतिस्पर्धी वायुसेवालाई पाँचौँ स्वतन्त्रताको अधिकार स्वीकृति प्रदान गर्न नहुने बताए । उनले भने, 'विमान किनेर सक्षम बनाउने वेलामा अरूलाई उडान अनुमति दिँदा यसले दीर्घकालीन असर पार्छ ।'
सभासद्हरूले एयर अरेबियालाई दिइएको अनुमति तत्काल रद्द गर्न माग गरेका छन् । उनीहरूले निगमले क्वालालम्पुर उडानको अनुमति दिन नहुने सुझाब दिए पनि त्यसविपरीत निर्णय गरिनु आपत्तिजनक भएको बताए । पर्यटनमन्त्रीको निर्णयका कारण निगम टाट पल्टिने भएकाले निर्णय फिर्ता लिइनुपर्ने सभासद्को भनाइ थियो ।
एयर अरेबियालाई क्वालालम्पुर उडान अनुमति दिइएको विषयमा समितिले २६ मंसिरमा पर्यटनमन्त्री भण्डारीसँग छलफल गर्ने भएको छ । 'मन्त्रीसँग छलफल गरेपछि त्यसबारे निर्णय हुन्छ,' समितिका सभापति पदमलाल विश्वकर्माले भने ।
निगममा क्रियाशील तीनवटै कर्मचारी संगठनले पर्यटन मन्त्रालयमा बुधबार संयुक्त ज्ञापनपत्र बुझाउँदै निर्णय तत्काल फिर्ताको माग गरेका छन् । 'पर्यटनमन्त्रीको निगम र राष्ट्रहितविपरीत निर्णयविरुद्ध एयर अरबियाको मलेसिया उडान रोक्न जुनसुकै कदम चाल्न बाध्य हुनेछौँ,' ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझाउनेमा राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संघ र कर्मचारी युनियन छन् ।










Nepalese Rupee Converter
_________________________
__________________________
___
Comments :
0 comments to “पर्यटनमन्त्रीबाट एयर अरेबियालाई काठमाडौं-क्वालालम्पुर उडान अनुमति”
Post a Comment